४ बैशाख २०८१, मंगलवार
Follow Us

घले समूहलाई परराष्ट्र मन्त्रीको निर्देशन, एनआरएनएको विवाद लिएर मन्त्रालय नआउनु

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७९, बुधबार १६:३७

काठमाडौं । परराष्ट्र मन्त्री डा. बिमला राई पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद तत्काल समाधान गर्न आग्रह गरेकी छन् । पूर्वअध्यक्ष शेष घले समूहको एक टोलीसंग मंगलवार मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले विवाद लिएर मन्त्रालयमा नआउन र आफै विवाद मिलाउन निर्देशन दिएकी हुन् ।

मन्त्री पौडेलले विदेशमा बस्ने गैर आवासीय नेपालीभित्रको विवादले राम्रो सन्देश नगएको बताउँदै विवाद तत्काल समाधान गर्न आग्रह गर्नु भएको हो ।

विनोद कुँवर नेतृत्वको घले समूहको टोलीको ज्ञापनपत्र बुझदै मन्त्री पौडेलले एनआरएनएका मुद्धाहरुका विषयमा आफू जानकार रहेको तर एनआरएनएको विवाद भने तत्काल टुग्याउन आग्रह गरेकी हुन् ।

‘पहिला संस्थाभित्र देखिएका विवादलाई मिलाएर आउनूस’, मन्त्री पौडेलले भन्नुभयो, ‘एनआरएनएभित्र विवाद जारी राखिराख्ने हो र आफ्ना समस्या समाधान नगर्ने हो भने एनआरएनएको औचीत्यतामाथि नै प्रश्न गर्नु पर्ने अवस्था आयो ।’

परराष्ट्रमन्त्री पौडेलले एनआरएनएले उठाउँदै आएको नेपाली नागरिकता निरन्तरताको विषयलाई आफुले पनि प्राथमिकतामा राखेर पहल र लविङ्ग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ज्ञापनपत्रमा कुँवर नेतृत्वले आफूहरु विधी विधानसम्मत निर्वाचीत भएको भन्दै आफूहरुनै वैधानीक भएकाले मन्त्रालयले आधिकारिता दिनुपर्ने माग गरिएको छ । तर सोही समूहले आधिकारिता माग गर्दै सर्वोच्च अदालतमा हालेको मुद्धा अहिले विचाराधिन छ ।

त्यस्तै, कुँवर नेतृत्वको एनआरएनए प्रतिनिधिमण्डलले उपप्रधान, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई पनि छुट्टाछुट्टै भेट गरी एनआरएनएको नाम र लोगो प्रयोग गर्दै अवैधानिक रुपमा गतिविधि गर्दै आएको छ ।