६ बैशाख २०८१, बिहीबार
Follow Us

कसैलाई पनि निषेध र प्रतिशोध नगरौं : प्राध्यापक सूर्य सुवेदी

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७९, आईतवार २१:५७

लन्डन। बेलायतस्थित अन्तरराष्ट्रिय कानूनका विज्ञ प्रा डा सूर्यप्रसाद सुवेदीले राष्ट्रको समृद्धि र लोकतन्त्रको सुदृढिकरणका लागि साझा प्रतिज्ञाको आवश्यकता औँल्याएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा आइतबार लन्डनबाट एक शुभकामना सन्देश जारी गर्दै सुवेदीले राष्ट्रप्रेमी राष्ट्रिय शक्तिहरुको एकता लोकतन्त्रको आधार रहेको धारणा व्यक्त गरेका छन्।

प्रजातन्त्र दिवस सबै राष्ट्रप्रेमी राष्ट्रिय शक्तिहरूले एकजुट भइ लोकतन्त्रको मर्मबमोजिम राष्ट्रलाई समृद्धि पार्न तथा लोकतन्त्रलाई राष्ट्रका सबै तहमा संस्थागत र सुदृढ गर्न साझा प्रतिज्ञा गर्नुपर्ने दिन रहेको उनले उल्लेख गरेका छन् ।

लोकतन्त्रको मर्म भनेकै कुनै पनि राष्ट्रिय शक्तिले कसैलाई पनि निषेध र प्रतिशोधको भावना नराखी राष्ट्र निर्माणमा योगदान दिन चाहने सबैलाई समेटेर मुलुकको प्रगतिको लागि काम गर्नु रहेको सुवेदीको भनाइ छ।

देश र जनताका लागि सबै राष्ट्रिय शक्तिहरुबीचको संवाद, समन्वय र सहकार्य नै लोकतन्त्रको आत्मा भएको उनले उल्लेख गरेका छन्।

राजनीतिक संस्कारमा देखिएको आदर्श, सिद्धान्त, दर्शन, निष्ठाप्रतिको विचलन रोक्ने प्रण गर्न प्रजातन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना सुवेदीले गरेका छन्।

नेपालमा जनमत संग्रह ल्याउने प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्दा जेलसमेत भोगेको, दोस्रो जन-आन्दोलनलाई अन्तरराष्ट्रिय स्तरमा बौद्धिक र नैतिक समर्थन जुटाउन अग्रणी भूमिका निर्वाह गरेको, देशभित्र वा बाहिर जता रहेपनि र सरकारमा जो आएपनि परि आउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै प्रकारका सरकारलाई आफूले सल्लाह दिंदै आएको डा सुवेदीले स्मरण गरेका छन्।

साथै, आगामी दिनमा लोकतन्त्रलाई राष्ट्रका सबै तहमा संस्थागत र सुदृढिकरण गर्ने, राष्ट्रको स्वतन्त्रता र सार्बभौमिकता रक्षा गर्ने र राष्ट्रको छवि संसारमा उच्च राख्ने अभियानमा राष्ट्रलाई जुनसुकै सहयोग गर्न तयार रहेको पनि उनले स्पष्ट पारेका छन्।