१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनको ‘फाटेको जुत्ता खै’ !

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७९, शुक्रबार ०३:४५

काठमाडौं । छायांकन सुरु नहुँदै फिल्म ‘फाटेको जुत्ता खै’को रिलिज मिति घोषणा गरिएको छ । अर्जुन कुमारको निर्माण रहने फिल्म आगामी वर्षको तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने भएको हो । फिल्ममा सौगात मल्ल र ऋचा शर्माको शीर्ष भूमिका रहनेछ ।

यसै साता यूएईको दुबईमा चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म फेस्ट २०२३ को सन्दर्भमा यो फिल्मको औपचारिक घोषणा भएको थियो । नेपालमा पनि पत्रकार सम्मेलनमार्फत यसबारे औपचारिक जानकारी गराइने भएको छ ।

फिल्मको निर्माणमा अर्जुन कुमार, गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र अर्का व्यवसायी धर्मराज अधिकारीले सहकार्य गर्दैछन् ।

झण्डै दुई करोड बजेटमा निर्माण हुन लागेको फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । निर्माताले दुबईमा फिल्म घोषणा गर्दै यो एनआरएनएसँगको यो सहलगानीले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको ढोका खुलेको बताएका थिए । अर्जुन कुमार फिल्म्स प्रालिको ब्यानरमा बन्ने फिल्ममा आकाश बरालको पटकथा र प्रवेश मलिकको संगीत हुनेछ ।

वैशाखदेखि नवलपरासीको त्रिवेणीमा फिल्मको छायांकन सुरु हुने जनाइएको छ । निर्माता अर्जुन कुमारले यसअघि निर्देशक खड्कासँगको सहकार्यमा फिल्म ‘फाटेको जुत्ता’ निर्देशन गरेका थिए । तर ‘फाटेको जुत्ता खै’ यसको सिक्वेल नभएको अर्जुन कुमारले बताए ।