६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा डा योगीद्वारा प्रवचन

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७९, शनिबार ०३:३४

लण्डन । हाल बेलायतको भ्रमणमा रहेका आध्यात्मिक चिन्तक गुरु डा चिन्तामणिनाथ योगीले स्वस्थ तन संगै मन पनि स्वस्थ हुनु पर्ने कुरामा जोड दिएका छन्।
पब्लिक हेल्थ सोसाइटी हडर्सफिल्डद्वारा मंगलबार बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा ‘स्वस्थ जीवनका लागि मानसिक स्वास्थ्य’ विषयमा प्रवचन दिंदै डा योगीले विना कुनै भौतिक सुविधा पनि आनन्दसंग जीवन जिउन सक्ने कला सबैले सिक्नु पर्ने बताए।

डा योगीले शरीरमात्रै स्वस्थ भएर हुँदैन, मन पनि स्वस्थ हुनु पर्छ भन्दै त्यसको लागि योग, ध्यान र प्राणायाम अनिवार्य रहेको बताए। प्राणायाम प्रार्थना पनि हो भन्दै योगीले आफ्नै स्वासलाई राम्रो संग हेर्ने कला विकास गर्नु पर्ने बताए। स्वास प्रश्वासमै प्राण शक्ति आधारित रहेको भन्दै उनले यो उर्जालाई जीवन रुपान्तरण गर्न उपयोग गर्नु पर्ने बताए
स्वस्थ शरीर र स्वस्थ मनका लागि पांच प- पानी, प्राणायाम, प्रेम, प्रार्थना र प्रकृति- को सान्निध्यमा रहनु पर्ने उनको सुझाव थियो।

‘प्रशस्त पानी पिउनु होस्, लामो स्वास लिनु होस्, सबैसंग र आफैलाई प्रेम गर्नु होस्, प्रार्थना गर्नु होस्, र सम्भव भएसम्म प्रकृतिको समीपमा बस्नु होस् र प्राकृतिक जीवन जिउनु होस् ।
‘मन र हृदयलाई अनुशरण गर्नु होस्। हाम्रो शरीर भित्रै रहेको आन्तरिक शक्तिलाई हेर्नोस्। तपाईं आफैमा परिपूर्ण हुनु हुन्छ, आफै भित्रको ‘स्व’ लाई चिन्नु नै सबै भन्दा ठूलो उपलब्धि हो,’ योगीले भने।
कार्यक्रमको शुरुमा हडर्सफिल्ड विश्वविद्यालयमा विश्व स्वास्थ्य विषयका प्राध्यापक तथा एसोसियट डिन प्रा पदम सिम्खडाले डा योगीलाई स्वागत गर्नुका साथै उनको परिचय पनि गराएका थिए ।
मंगलबार बेलुका डा योगीले हडर्सफिल्डस्थित हिन्दु मन्दिरमा आयोजित सत्संगमा ‘वर्तमान विश्वमा वैदिक दर्शन तथा अध्यात्म’ विषयमा प्रवचन दिएका थिए। उक्त कार्यक्रमको संयोजन समाजसेवी किरण बाइजीले गरेकी थिइन्।

काठमाडौँस्थित शान्ति सेवा आश्रमका संस्थापक तथा हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य डा योगी विश्व ओमकार एकता महाभियानका संयोजक पनि हुन्। बेलायतमा चेतना यात्राको क्रममा उनले विभिन्न नेपाली संघसंस्थाका साथै अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय, लन्डनस्थित सेन्ट जेम्स स्कुल, वर्ल्ड गुडविल युके जस्ता संस्थाहरुमा भ्रमण तथा भेटघाट गरिरहेका छन् । उनले अल्डरशटस्थित शिव कल्चर सेन्टर (शिव मन्दिर) तथा बौध्द गुम्बामा आयोजित सत्संगहरुलाई सम्बोधन गर्दै बेलायतमा बसोबास गरिरहेका ओमकार परिवार तथा गोर्खाली बन्धुहरुलाई एकताको एउटै मालामा आबद्ध गर्नु पर्नेमा जोड दिए।

गत शनिबार, शिवरात्रीका दिन उनले बर्मिङ्घमस्थित पशुपतिनाथ मन्दिरमा प्रवचन दिएका थिए । आउँदो आइतबार, २६ फेब्रुअरीका दिन साउथहलस्थित विश्व हिन्दु मन्दिरमा डा योगीले ‘प्रवासमा हाम्रो धर्म, संस्कृति र पहिचान’ विषयमा प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।