११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनको लगानीमा निर्माण गरिएको माथिल्लो माछाखोला जलविद्युतको उत्पादन सुरु

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७९, सोमबार १५:०७

काठमाडौँ। गोरखाको धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४।५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बालुवाटारबाट भर्चुअल रुपमा विद्युत् उत्पादनको उद्घाटन गरे ।

गोरखा जिल्लाको उत्तरी भूभागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बुढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा ३५ प्रतिशत लगानी संस्थापकहरूको छ भने राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी छ । यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौता अनुसार २०८० साल असार ३० गते विद्युत् उत्पादन गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा ४ महिना अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले जलविद्युत् निर्माणमा संलग्न गैरआवासीय नेपाली र स्थानीय लगानीकर्ताको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्दै एनआरएनलाई थप लगानी गर्न आग्रह गरे । उनले १३२ केभीएको ट्रान्समिसन लाइन निर्माणको लागि सरकारले तत्काल काम सुरु गर्ने बताए । उनले सरकारको अबको लक्ष्य सुशासन र विकास नै रहेको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

भर्चुअल उद्घाटन कार्यक्रममा गोर्खा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईंले गोरखाका विविध समस्याको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै १३२ केभीएको ट्रान्समिसन लाइन निर्माण तत्कालै गर्नुपर्ने बताए । यसका लागि जग्गाको कुनै समस्या नरहेको जनाउँदै बजगाईंले ट्रान्समिसन लाइन नबन्दा धेरै जलविद्युत् आयोजनालाई समस्या हुने बताए । बजगाईंले गोरखामा बुढीगण्डकीसँगै अन्य धेरै जलविद्युत्‌को प्रचुर सम्भावना रहेको बताए । यस जलविद्युत् कम्पनीको नेतृत्व गैर आवासीय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन् भने सञ्चालक समितिको प्रवन्ध निर्देशकमा कृष्णप्रसाद घिमिरे, निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्रबहादुर ढकाल, सुनिल श्रेष्ठ लगायतका व्यवसायी छन् । एनआरएनएका कोषाध्यक्ष एवम् सो आयोजनको लगानीकर्ता लोक दाहालले दिइएको समयसीमामा कयौं जलविद्युत् आयोजना नबनेको अवस्थामा विकास हाइड्रो भने पहिले नै निर्माण सम्पन्न भएको बताए ।