११ बैशाख २०८१, मंगलवार
Follow Us

पत्रकार जगत नेपाल सहित ७ जनालाई इन्जा पत्रकारिता पुरस्कार प्रदान

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७९, बुधबार १९:१०

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) बौद्धिक पत्रकारिता पुरस्कार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं पत्रकार जगत नेपाल सम्मानित भएका छन् ।

इञ्जा स्थापना दिवसका अवसरमा नेपाललाई इञ्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । विगत लामो समयदेखि पत्रकारितामा सक्रिय नेपाल हाल अनुसन्धानमुलक डिजिटल पत्रिका अन्वेषण डटकमको सल्लाहकार सम्पादक समेत हुन् ।

उनीसँगै दैनिकी डट कम अनलाइनका सम्पादक माधव तिवारीलाई सम्मान गरियो । यस्तै इञ्जा खोजी पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मात्रिका दाहाल र आइएनएस डट कम अनलाइनका तारा वाग्लेलाई प्रदान गरिएको थियो ।

इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार रेडियो समग्र एफएम १०७ मेघाहर्ज लाहान र युवा पत्रकार सरिता चलाउनेलाई तथा इञ्जा फोटो पत्रकारिता पुरस्कार सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही रु ५० हजारसहित सम्मानपत्र रहेको छ । सम्मानित पत्रकारलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनाली, सम्पादक समाजका संरक्षक किरण वैद्य, वरिष्ठ पत्रकार कुमार यात्रु र जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई इञ्जा अग्रज पत्रकारिता सम्मान अर्पण गरिएको थियो । यसैगरी समाजसेवामा योगदान पुर्‍याउने शङ्कर भट्टराई, महिला हक अधिकारका क्षेत्रमा क्रियाशील विजया शाह र युवा व्यवसायी प्रदीप गुरुङलाई इञ्जा विशेष सम्मान प्रदान गरिएको थियोे ।

इञ्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेल, एसिया अध्यक्ष टङ्क पन्तलगायतले नेपाली पत्रकारिता क्षेत्रको श्रीवृद्धि र पत्रकारको उन्नयनका लागि विभिन्न फेलोसिप, पुरस्कार र सहयोग गर्दैै आएको जानकारी दिए ।