७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजदूत आचार्यले बुझाए माल्टाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७९, बिहीबार २१:४७

लण्डन । माल्टाका समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्र माल्टाका राष्ट्रपति डा जर्ज भेल्लासमक्ष ओहोदाको प्रमाण पत्र पेश गरेका छन् ।

राष्ट्रपतिको दरबार भ्यालेटामा बिहीबार आयोजित एक विशेष समारोहमा राजदूत आचार्यले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट माल्टाका राष्ट्रपति तथा माल्टाका नागरिकहरूको सुस्वास्थ्य र सुखका लागि पठाइएको सन्देश सुनाएका थिए ।

साथै राजदूत आचार्यले नेपालको पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक विकास तथा वर्तमान सरकारको विकासका प्राथमिकताबारे जानकारी दिए ।

ओहोदाको प्रमाण पत्र ग्रहण गर्दै राष्ट्रपति भेल्लाले आचार्यलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । साथै राष्ट्रपति भेल्लाले आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा पर्यटन, शिक्षा, रोजगारका अवसर तथा माल्टास्थित नेपाली समुदायमार्फत आपसी सम्बन्ध अझ विस्तार गर्न दुवै सहमत भएका छन् ।

उक्त समारोहमा राजदूत आचार्य पत्नी सुनिता आचार्य र दूतावासकी तृतीय सचिव पुजन पाण्डे पनि सहभागी थिए ।