१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७९, शुक्रबार १३:२१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका-१० का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी रकम हानी-नोक्सानी पुर्‍याएको आरोमा शम्भुप्रसाद मैनालीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारले आज (शुक्रबार) वडाध्यक्ष मैनालीसहित गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । वडाध्यक्ष मैनालीविरुद्ध ९ लाख ३६ हजार रुपैयाँ बिगो मागदावी गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् । अख्तियारले मैनालीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ अनुसार १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्म कैद सजायको पनि मागदाबी गरेको छ ।

त्यस्तै अर्का प्रतिवादी गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध जनही ९ लाख ३६ हजार बिगो र मुख्य आरोपित मैनालीलाई मागदाबी गरिएको सजायको आधा सजाय गर्नुपर्ने विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ ।