७ बैशाख २०८१, शुक्रबार
Follow Us

बंगुरको खोरबाट पुष्पा राई भइन् मुक्त

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७९, आईतवार ०५:४९

म्याग्दी । म्याग्दीकी १५ वर्षीया पुष्पा राईले बंगुरको खोरमा बसेर एक छाक मकै खाएर र एक छाक भोकै बसेर कक्षा ७ मा पढ्नु भएकाे छ ।

तर अब पुष्पालाई १२ कक्षासम्मको अध्ययन गर्नका लागि आर्थिक स्रोत जुटेको छ । जसका कारण अब बंगुरको खोरबाट पुष्पा मुक्त हुनुभएकाे हाे । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुरको खोरमा आमा राजकुमारी राईसँगै बसेर नजिकै रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने पुष्पालाई विभिन्न मनकारी व्यक्तित्वहरुले सहयोग गरेका हुन् ।

आफ्नो भोक, प्यास, निन्द्रा र सबै बिर्सेर छोरी पुष्पाको शिक्षा दीक्षाका लागि पसिना बगाएकी राजकुमारीले पनि बंगुरको खोरबाट मुक्ति पाउनुभएको छ । पुष्पाले पनि कक्षा १२ सम्म पढ्ने प्रयाप्त सहयोग प्राप्त गर्नुभएको छ । बेनी नगरपालिका–६, छाप घर भई हाल युकेमा बस्नुभएका किसान जिसीले पुष्पालाई कक्षा १२ सम्म लाग्ने आर्थिक र शैक्षिक सहयोग गर्नुभएको छ ।

बेनी नगरपालिका–२, बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी पुष्पाको शिक्षा दीक्षामा कुनै समस्या हुन नदिन अमेरिकामा रहेकी समाजसेवी शोभा पाण्डेको अगुवाईमा मनु शाह, शिला रेग्मीले २५ हजार र रिक म्याग्दी नामक गैरसरकारी संस्थाले पोशाक, स्टेशनरी र झोला सहयोग गर्दै वार्षिक ५ हजार बराबरको स्टेशनरी सहयोग गरेको विद्यालयकी सहायक प्रधानाध्यापक घनदेवी घर्तीमगरले बताउनुभयो ।

पुष्पा जेहन्दार, अध्ययनशील र अनुशासितका साथै विद्यालयकै मेधावी छात्रा भएकाे उहाँले बताउनुभयाे । अब पुष्पाकाे पढाईमा कुनै समस्या नहुने उहाँकाे तर्क छ । भविष्यमा डाक्टर बन्ने सपना बोकेकी पुष्पालाई बंगुरको खोरमा राखेर मजुदरी गर्ने बाध्यताकाे समेत अन्त्य भएकाे छ ।

बंगुरको खोरभित्र पढ्ने उचित वातावरण नभएपछि राजकुमारी अहिले कोठा भाडामा लिएर बस्न थाल्नु भएकाे छ । बंगुर फार्म कुरेर बस्नुभएकी राजकुमारीले अब मजदुरी गरेर खर्च चलाउने र दाताको सहयोग छोरीको शिक्षा दीक्षामा खर्च गर्ने बताउनुभयो ।