१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पहिले अविश्वास प्रस्ताव कि बजेट आश्रित विधेयक ?

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार ०६:५८

काठमाडौं । बजेट विधेयकसँग जोडिएको आश्रित विधेयक अगाडि बढाउने हो कि अविश्वास प्रस्तावलाई पहिलो प्राथमिकतामा राख्ने विषयमा विवाद उत्पन्न भएपछि आजको संसदको बैठक अनिश्चित बनेको छ । अविश्वासको प्रस्ताव कार्यसूचिको पहिले प्राथमिकतामा राख्नुपर्ने कांग्रेस माओवादी अडिग छन् भने बजेट विधेयकसँग आश्रित विधेयक पहिले टुंग्याउनुपर्ने माग सत्तारुढ दलले राखेका छन् । यो विवादलाई टुंग्याउन सभामुख अनसरी घर्तीले संसद बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरेर तीन दललाई सिंहदरबारमा बोलाएर छलफल चलाउनुभयो । पहिलो चरणको छलफलमा विवादले कुनै निकास निकालेन । पुन बस्ने गरी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको सो बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र एमाले संसदीय दलका उपनेता सुभास नेम्वाङ सहभागी हुनुहुन्थ्यो । उहाँहरुले बैठक सकिएपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिनुभएन ।
नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेससहितका दलले सरकारविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो दिनको बैठकको कार्यसूचीमा रहेको बजेट आश्रित विधेयकको कार्यसूची स्थगन गरिएको थियो ।

आ–आफ्नै तयारी
कांग्रेस माओवादी अविश्वास प्रस्ताव पहिलो कार्यसूचिमा पारेर आजै छलफल गरी मतदान गर्नुपर्ने रणनीतिमा लागेका छन् भने सत्तारुढ गठबन्धन दल त्यसो हुन दिने छैन । वजेट आश्रित विधेयक छोडेर अविश्वासको प्रस्तावमाथि छलफल चलाए रोस्टम घेरेर संसद चल्न नदिने योजनामा सत्तारुढ गठबन्दन दल लागेका छन् । अप्रिय अवस्थाको सामना गर्न सभामुख घर्तीलाई चेतावनी एमालेलगायतका दलहरुले दिइसकेका छन् । सत्तारुढ दलले रोस्टम घेरेर संसद अवरुद्ध गरेको सम्भवतः संसदीय इतिहासमा पहिलो हुने जानकारहरु बताउँछन् ।
संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि सरकारले त्यो फेस गरेर मात्र अघि बढ्न सक्ने संसदीय परम्परा भएकाले एमालेको धम्कीबाट नडराउने कांगे्रस माओवादीले बताइसकेका छन् ।