८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल बङ्गलादेशसँग ८३ रनले पराजित

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७३, मंगलवार १३:०२

काठमाडौं । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ । बङ्गलादेशको शेख कमल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४२ दमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो । लगातारको दोस्रो हारसँगै नेपाल छनोट चरणबाटै बाहिरिएको छ ।
नेपालका दीपेन्द्रसिंह ऐरिले अर्धसतक बनाए । ८५ बल खेलेका उनले ६ चौकाको मद्दतमा ५६ रन जोडे । त्यसैगरी दिलीप नाथ एक छक्का र चार चौका प्रहर गर्दै ४१, विनोद भण्डारीले एक छक्का र छ चौकासहित ३३, अशिफ शेख १२ र मेहबुब आलमले १० रन बनाए । बलिङतर्फ बङ्गलादेशका रहतुल फेडरसले चार, मोहम्मद सैफुदिनले तीन र अबुल हसनले दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशको २३ वर्षमुनिको टालीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो । बङ्गलादेशका लागि नासिर हुसैनले सतक हाने । उनले अविजित रहँदै ११५ बलमा १०९ रन बनाए । यसमा दुई छक्का र १२ चौका सामेल थियो । कप्तान मोमिनुल हकले ७८ बलमा सात चौकाको मद्दतमा ६१ रन तथा अबुल हसनले २९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि अविनाश कर्णले तीन विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै एक मेडन राखी ४६ रन खर्चेका थिए । यस्तै सन्दिप लामिछानेले १० ओभरमा ४१ रन दिँदै दुई विकेट लिए । मेहबुब आलम, कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट बाँडे ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बङ्गलादेश र श्रीलङ्काका २३ वर्षमुनिका खेलाडीको सहभागिता रहेको छ ।