१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेस सभापति शेरबहादुर देउवाको नाममा जुरेको अविश्वास प्रस्ताव

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७३, शुक्रबार ०६:००

काठमाडौं । नेपाली राजनीतिमा एमाले नेतृत्वको सरकार ढाल्ने खेलमा कांग्रेस नेता शेरबहादुर देउवाको सकृयता प्रायः प्रधान हुने गरेको इतिहास छ । २०५१ सालमा दक्षिण एशियाकै पहिलो कम्युनिष्ट सरकार मानिएको मनमोहन अधिकारीको सरकारलाई नौ महिना पूरा हुनेवित्तिकै अविश्वासको प्रस्ताव पेश गरेर ढलाउने खेलमा सकृय भएका देउवा २१ बर्ष पछि केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने खेलमा पनि सक्रिय हुनु एउटा संयोग नै बनेको छ ।
नेपालको राजनीतिक इतिहासमा अहिलेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार जना प्रधानमन्त्रीविरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । जसमध्ये २५ वर्षको संसदीय अभ्यासका क्रममा अविश्वास प्रस्ताव झेल्ने चारमध्ये २ जना प्रधानमन्त्री पदमुक्त भएका छन् । अविस्वासको प्रस्तावद्वारा पदमुक्त गरिएका प्रधानमन्त्रीहरूमा तत्कालीन एमाले महासचिव तथा प्रधानमन्त्री मनमोहन अधिकारी र राप्रपा नेता लोकेन्द्रबहादुर चन्द हुन् । संयोगवश २१ वर्ष पछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका छन् । र उनीविरूद्ध पनि संसदमा अविस्वासको प्रस्ताव दर्ता भएको छ । पहिले र अहिले अविश्वासको प्रस्ताव संसदमा पु-याउने एउटै पात्र शेरबहादुर देउवा नै नै हुन् ।
२०५२ सालमा अधिकारीको ९ महिनामा सरकार ढलाउन देउवासहित ७७ जना सांसदले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ०५२ भदौ २२ देखि २४ गतेसम्म संसदमा चलेको छलफलपछि भएको मतदानका क्रममा अविश्वासको प्रस्ताव पास भएपछि अधिकारी पदमुक्त भएका थिए । त्यतिबेला मनमोहन अधिकारीले जुन नियति भोगेका थिए, अहिले केपी शर्मा ओलीले पनि उस्तै स्थितिको सामना गर्नु परिरहेको छ ।
२०७२ साल असोज ३ गते संविधान जारी भएसँगै बनेको संक्रमणकालीन सरकारले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटसम्वन्धि केही विधेयक पारित हुन बाँकी हुँदा काँग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । र अहिले पहिला संसदमा छलफल भइसकेको विधेयक पास गर्ने कि अविश्वासको प्रस्तावमाथिको छलफल सुरु गर्ने भन्नेमा सत्तासीन र प्रतिपक्षीहरु प्रतिष्ठाको लडाई लडिरहेका छन् ।
– विमल नेपाल