७ बैशाख २०८१, शुक्रबार
Follow Us

अविश्वासको प्रस्तावलाई नै अघि बढाइने

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७३, शुक्रबार ०८:३९

काठमाडौं । प्रमुख तीन राजनीतिक शक्तिले व्यवस्थपिका–संसद्को आजको बैठकमा सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र मधेस केन्द्रित दलका शीर्ष नेताहरुको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई एकजुट भएर पारित गर्ने सर्वसम्मतले निर्णय गरेको हो ।
यसबाहेक बैठकमा नयाँ सरकारको निर्वाचनमा पनि मधेस केन्द्रित दलले सघाउने र त्यसबीचमा मधेस मुद्दा समाधान गर्न समझदारी गर्ने निर्णय भएको बैठकमा सहभागी काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ सत्ता गठबन्धनका लागि काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिको एक नम्बर बुँदामा संविधानप्रति असन्तुष्ट मधेस केन्द्रितलगायत अन्य दलसँग वार्ता गरी समस्या समाधान गर्ने उल्लेख छ ।”
बिहीबार प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राख्नुभएको सहमतिको प्याकेजका सम्बन्धमा प्रधानमन्त्री ओली सहमत नदेखिएको भन्दै बैठक अविश्वासको प्रस्ताव अघि बढाउनेमा निर्णयमा पुगेको हो ।
बैठकमा तीनै पक्षबीच अविश्वासको प्रस्ताव अघि बढाउने सम्बन्धमा सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अविश्वासको प्रस्ताव पारित भएपछि बन्ने नयाँ सरकारका बारेमा समेत शीर्ष नेताबीच छलफल भएको उहाँले बताउनुभयो ।
बैठकमा काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल, नेताहरु बिमलेन्द्र निधि र चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा हुनुहुन्थ्यो । यस्तै मधेशकेन्द्रित दलका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, हृदयेश त्रिपाठी, राजकिशोर यादवलगायत सहभागी हुनुहुन्थ्यो ।
– रासस