८ बैशाख २०८१, शनिबार
Follow Us

चर्चामा ‘साँइला…’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७४, शनिबार १३:११

काठमाडौं । केही समयअघि ‘साँइली’ ले नेपाली सांगीतिक बजार तताएको थियो । तर, यतिखेर भने ‘साँइला’ चर्चा छ । केही दिनअघि यु–ट्युबमा सार्वजनिक भएको गायिका अनिला राईको ‘साँइला’ बोल गीतको भिडियो दर्शक तथा श्रोताले रुचाएका छन् । जसमा प्रदेशिएका साँइलाहरुलाई समर्पित गरिएको छ ।
पत्रकार एमपी सुब्बाले निर्देशन गरेको यस भिडियोमा साँइलीको भूमिकामा मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुलेले अभिनय गरेकी छन् भने अभिनेता दिक्पाल कार्की प्रदेशिएका साँइला बनेका छन् । गीतको भावअनुसार निशा र दिक्पालले जीवन्त अभिनय गरेका छन् । थुप्रै म्युजिक भिडियो तथा केही नेपाली चलचित्रमा अभिनय गरिसेकी निशाले यस भिडियोबाट धेरै अपेक्षा गरेको सुनाइन् ।
भिडियो रिजिलकै दिन शनिबार आफ्नो जन्मदिन मनाएकी निशाले भनिन्, ‘यो भिडियो मेरो लागि विशेष बनेको छ । र, यस भिडियोबाट मेरो मोडलिङ करिअरमा धेरै अपेक्षा पनि गरेकी छु ।’ निशालाई कार्यक्रममा जन्मदिनसँगै भिडियोको सफलताको लागि शुभकामना दिनेहरुको भीड लागेको थियो । यस भिडियोमा निशा र दिक्पालका अलावा पत्रकार कुबेर गिरिलगायतको पनि अभिनय हेर्न सकिन्छ ।
फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक समेत रहेका नविनबाबु गुरुङको छायांकन रहेको ‘ए साँइला’ को शब्दरचना हेमकुमार राईले गरेका हुन् भने संगीत डक्टर किरातको रहेको छ ।
एक दशकदेखि बेलायतका बस्दै आएकी गायिका अनिलाको यो पछिल्लो एल्बम ‘स्वरांकन’ मा समावेश गीत हो, ‘ए साँइला’ । आफू प्रदेशिएर प्रदेशिएकैहरुका लागि उनले यो गीत गाएकी छन् । जुन गीत दर्शक तथा श्रोताले रुचाउँने उनको विश्वास छ ।