७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय तह निर्वाचनको मौन अवधि आज रातिबाट

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार ०७:१६

काठमाडौं । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेपछि सुरु हुदैछ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि सुरु भएपछि मतदान सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको प्रचार गर्न नपाउने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा छ ।

निर्देशिका अनुसार मतदान हुनु ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा गर्न पाइने छैन । साथै जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ ।

मौनअवधिमा प्रचारप्रसार गरेको पाइएमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्दसम्म गर्न सकिने ब्यवस्था छ । मौन अवधिमा रेडियो वा टेलिभिजन, घर दैलो कार्यक्रम तथा सामाजिक सञ्जाल कुनैपनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसारमा समेत विशेष निगरानी गर्ने आयोगले जनाएको छ ।