१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेस–माओवादी गठबन्धन इतिहासको आवश्यकता : सभापति देउवा

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार १३:५२

चितवन । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनले मधेस, पहाड र हिमाललाई एकताबद्ध गरेर देशलाई निर्वाचनतिर लैजान सफल भएको बताउनुभएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको संयुक्त आमसभालाई सम्बोधन गर्दै उहाँले गत वर्ष सरकारको नेतृत्व लिँदा एकातिर पहाड, एकातिर हिमाल र अर्कातर्फ तराई भएकामा यो गठबन्धनले सबैलाई एकताबद्ध बनाएर निर्वाचनतर्फ लैजान सकेको बताउनुभयो ।

सरकारको नेतृत्व लिँदै गर्दा पूर्व र पश्चिमतर्फ डरलाग्दो स्थिति भएको बताउँदै उहाँले भन्नुभयो, “यो गठबन्धनले मधेसलाई पहाडसँग र पहाडलाई मधेससँग मिलाएर सबैलाई लिएर निर्वाचनतर्फ लैजाने वातावरण बनायो ।” मधेसलाई एकातिर र पहाडलाई अर्कातिर पारेर देशलाई विभाजनतर्फ लैजाने प्रवृत्ति विजयी गराउने या मधेस, पहाड, हिमाललाई जोडेर संविधान कार्यान्वयनतिर दृढतापूर्वक लाग्ने विचार र शक्तिलाई जिताउने भन्ने फैसला गर्ने काम जनताको काँधमा आएको उहाँले बताउनुभयो ।

गत सालसम्म १६ घन्टासम्म विद्युत्भार कटौती खेपेकामा यही गठबन्धनले विद्युत्भार कटौतीको अन्त्य गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “उज्यालोलाई जिताउने कि अँध्यारोलाई जिताउने नेपाली भन्ने पनि जनताको हातमा फैसला छ ।”
सम्बोधनमै काँग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीको उपमा दिएर सम्बोधन गर्नुभएका प्रधानमन्त्री दाहालले काँग्रेसले गिरिजाप्रसाद कोइराला र माओवादी केन्द्रले प्रचण्डजस्तो नेता नपाएको भए मुलुक यो अवस्थासम्म आइनपुग्ने बताउनुभयो । भरतपुर महानगरपालिकामा गरिएको गठबन्धन संयोगको कुरा नभएर इतिहासको एउटा आवश्यकता भएको बताउँदै उहाँले भरतपुरलाई नेपालकै नमुना नगरपालिका बनाउने मात्रै होइन, दक्षिण एसियाकै नमुना समृद्ध महानगर बनाउन गठबन्धन गरिएको हो भन्नुभयो ।

चौबिस वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ओह्रालो लागेर गत वर्ष एक प्रतिशतभन्दा तल झरेकामा २५ वर्षपछि अहिले सात प्रतिशत वृद्धिदर भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो विकास र समृद्धिलाई जिताउने वा विभाजनलाई जिताउने आजको सवाल छ ।” आफू प्रधानमन्त्री हुँदै गर्दा विभिन्न आरोप लागे पनि यही गठबन्धनले राष्ट्रलाई एकताबद्ध बनाएर निर्वाचन गर्ने र आर्थिक विकासको गति दिने काम गरेको उहाँले बताउनुभयो । मनोनयन गर्ने दिन बिहान पनि आफूलाई सिंहदरबारमा फोन गरेर निर्वाचन हुन्छ र भनेर सोध्ने गरिएको बताउँदै उहाँले भन्नुभयो, “मैले जे भन्दै आएँ, त्यो पूरा भएर छाड्यो । वैशाख ३१ गते निर्वाचन हुन्छ ।” यो २० वर्षपछिको निर्वाचन नभएर पहिलो निर्वाचन भएको उहाँको भनाइ थियो ।

भरतपुर महानगरमा गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गर्दै उहाँले महानगरको प्रमुख पदका उम्मेदवार रेणु दाहाललाई प्रचण्डपुत्रीका रुपमा मात्रै नहेरेर उनले पार्टीमा पु¥याएको योगदानको मूल्याङ्कनसमेत गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा काँग्रेसका सभापति शेरबहादुर देउवाले बाह्रबुँदे सहमतिदेखि नै माओवादी केन्द्रसँग गठबन्धन हुँदै आएको हो भन्दै नेपालमा स्थायी शान्ति र सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र स्थापना गर्न दुई दलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डको प्रयासबाट देशमा शान्ति सम्झौता भएको बताउँदै उहाँले भन्नुभयो – “ अब हिजोका कुरा गर्ने होइन, भोलिको सुनौलो भविष्य हेर्ने हो ।” प्रान्तीय र सङ्घीय निर्वाचनसम्म दुई पार्टीका बीचमा गठबन्धन हुने छ भन्दै उहाँले संविधान कार्यान्वयनका लागि दुई पार्टी मिल्नाको विकल्प नभएको बताउनुभयो । मधेस र पहाडलाई विभाजन गर्नेहरुसँग सजग रहनुपर्ने बताउँदै उहाँले मधेस, पहाड र हिमाल नमिलेसम्म देश समृद्ध हुँदैन भन्नुभयो ।

मिलेर बसेको समाजलाई झगडा गराउने षड्यन्त्र रच्नेहरुलाई जनताले चिन्नुपर्ने र सबै मेलमिलाप गरेर बस्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रिय एकता नै अहिलेको आवश्यकता हो, काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि यो गठबन्धन आवश्यक छ ।”

भरतपुरमा मात्रै गठबन्धन नभएको बताउँदै उहाँले भरतपुरमा एकले अर्कालाई असहयोग गरे पोखरामा असर पर्ने भएकाले पनि नेतृत्व तहबाट भएको गठबन्धनलाई अक्षरशः पालना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । भड्काउमा नपरेर संयुक्त प्यानललाई मत दिन आग्रह गर्दै उहाँले महानगरहरुमा प्रमुख र उपप्रमुख दुवै महिला बनाएर देखाउन आग्रह गर्नुभयो । महिला राष्ट्रको महत्वपूर्ण शक्ति भएकाले यसले यो महानगरलाई नमुना बनाउन साथ दिने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अमिक शेरचनले यो गठबन्धन राजतन्त्र र गणतन्त्रबीचको लडाइँ हो भन्दै प्रतिगमनतर्फ जानेलाई पराजित गर्नका लािग गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । पार्टीभन्दामाथि उठेर असल व्यक्ति र विचारलाई मत दिन पनि उहाँले आग्रह गर्नुभयो ।

रक्षामन्त्री तथा काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस र माओवादी केन्द्रबीचमा कम्तीमा १० वर्षसम्म सहयात्रा हुन सकेमा मुलुक समृद्ध हुने बताउँदै गठबन्धनलाई साथ दिन आग्रह गर्नुभयो । माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार रेणु दाहाल र काँग्रेसबाट उपप्रमुख पदका उम्मेदवार पार्वती शाहले आफूहरु साझा उम्मेदवार भएकाले गठबन्धनमा मतदान गर्न अनुरोध गर्नुभयो ।

सो अवसरमा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला र माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले केन्द्रको निर्देशनअनुरुप बनेको गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । सभाअघि महानगरका विभिन्न ठाउँबाट पदयात्रासहित दुई पार्टीका नेता कार्यकर्ता सभास्थल भरतपुर बसपार्कमा जम्मा भएका थिए ।