१२ बैशाख २०८१, बुधबार
Follow Us

गगनमाथि एमाले कार्यकर्ता किन जाइलागे ?

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७४, शनिबार ०८:३१

काठमाडौं । शनिबार विहान कपनमा स्वास्थ्य मन्त्री गगन थापालाई एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका छन् ।
मतदातालाई प्रलोभन र निर्वाचन आचारसंहिता विपरीत भएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार गरेका हुन् । यसबारे एमालेले निर्वाचन आयोगलाई समेत उजुरी दिएको स्थानीय एमाले कार्यकर्ताले बताए ।
जोरधारातिर जाने क्रममा मन्त्री थापाको निजी नम्बर प्लेटको गाडीमा ढुंगासमेत प्रहार भएको थियो । एकजना समर्थकको घरभित्र रहेका मन्त्री थापा बाहिर निस्केर घरतिर जाने क्रममा एमाले कार्यकर्ताले घेराउ गरेका हुन् ।
मन्त्री थापा बिहानै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा पुगेका थिए । त्यहीक्रममा उनलाई एमाले कार्यकर्ताले घेराउ गरेका हुन् । उनीहरुले थापाविरुद्ध नाराबाजी र गालीगलौज गरेका थिए । जोरधाराबाट हृयाण्ड बल ग्राउण्ड हुँदै निस्कने क्रममा मन्त्रीको गाडीमा पछाडिबाट ढुंगा हानिएको प्रहरीले जनाएको छ ।
मन्त्री थापाले भने आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए । उनले आफू यसरी घरमा जान पाइने प्रतिक्रिया गाडीभित्रैबाट दिए ।
लगत्तै एकजनाले ‘गगनेलाई लखेट’ भनेपछि एमाले कार्यकर्ताहरु मोटरसाइकल चढेर मन्त्रीको गाडीलाई पछ्याउदै सुकेधारासम्म पुगेका थिए ।
एमाले कार्यकर्ता उज्ज्वल दाहालले मन्त्री थापा चढेको गाडीलाई अगाडिबाट रोक्न खोज्दा उनी चढेको मोटरसाइकल सडकमा पल्टिएको थियो । एमाले कार्यकर्ता दाहालको खुट्टामा सामान्य चोट लागेको छ ।