१५ बैशाख २०८१, शनिबार
Follow Us

आइतबार रातिबाटै मतगणना, दुर्गम र हिमाली जिल्लामा सोमबार

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७४, शनिबार ११:४४

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका लागि पहिलो चरणको मतदान सकिएपछि सुगम जिल्लाहरुमा आइतबार रातिबाटै र दुर्गम एवं हिमाली जिल्लाहरुमा सोमबारबाट मतगणना शुरु गर्ने भएको छ । कानूनले मतपेटिका संकलन भइसकेपछि स्थानीय प्रतिनिधिहरुको रोहबरमा मतगणनाको समय तोक्ने अधिकार निर्वाचन अधिकृतहरुलाई दिएकाले सबै प्रक्रिया पुरा भएपछि सुगम स्थानमा भोली बेलुकाबाटै मत गणना सुरु गर्ने आयोगको तयारी छ ।

मतगणनामा निर्वाचन अधिकृत बाहेक एक/एकजना मतगणना अधिकारी र सुपरीवेक्षकका साथै तीनजना गणक र दलका प्रतिनिधि राखेर भोट गन्ने ब्यवस्था छ । मतपेटिका संकलन भइसकेपछि परिस्थिति हेरेर निर्वाचन अधिकृतले मतगणना शुरु हुने समय निर्धारण गर्ने बताइएको छ ।

आयोगका अनुसार ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमध्ये २ वटामा निर्विरोध रुपमा जनप्रतिनिधिहरु निर्वाचित भईसकेका छन् । भोलि मतदान हुने २ सय ८१ स्थानीय तहमध्ये सम्बन्धित तहकै कार्यालय वा निर्वाचन अधिकृतले तोकेका अन्य कार्यालयहरुमा मतगणना गरिने छ ।

मतदान सकिए लगत्तै स्थानीय प्रशासन र सुरक्षा निकायको सहयोगमा मतपेटिका संकलन सुरु हुनेछ । मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा पुर्‍याउन अधिकांश स्थानमा ३ देखि ५ घण्टा र हिमाली एवम् दुर्गम जिल्लाहरुमा ८ देखि १२ घण्टासम्म लाग्ने आयोगको अनुमान छ ।

गृहमन्त्रालयले सुरक्षा संवेदनशीलता हेरेर नेपाल र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी गरेको छ । गणना गर्नुपर्ने मत, उपलब्ध स्थान र सुरक्षा अवस्था अनुसार एकैपटक दुई वा सो भन्दा बढी मतगणना टोली परिचालन गर्ने आयोगको तयारी छ । मतगणना केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक्ता अनुसार नेपाली सेनासमेत खटाउने तयारी छ ।