१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज दिनभर कहाँ कहाँ के के भए ?

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७४, आईतवार १२:४१

काठमाडौं । विहान सात वजे सुरु भएको मतदानमा सवै क्षेत्रका मतदाताहरुको सहभागिता उत्साहपूर्ण रह्यो । एकाध घटनालाई छाडेर समग्रमा सौहार्दपूर्ण र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । यद्यपी, केही दिनदेखि तनावग्रस्त रहेको दोलखा मतदानको दिन थप तनावपूर्ण वन्यो ।
दोलखाको मेलुङ गाउँपालिकाको पोवटी बुथमा प्रहरीले गोली चलालाउँदा एक जनाको मृत्यु भएको छ । काँग्रेस र माओवादी गठवन्धनले वुथ कब्जा गर्ने प्रयास गरेको र अवस्था असामान्य भएपछि प्रहरीले गोली चलाएको बताइएको छ ।
वुथ कब्जा गर्न खोज्नेहरुलाई रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । घटनामा अन्य केही घाइते भएका छन् । काँग्रेस र एमालेविचको झगडाका कारण दोलखाका कतिपय मतदान केन्द्र दिनभरि तनावग्रस्त रहे ।
काभ्रेको नमोवुद्ध मेथिनकोटस्थित जनक मावि केन्द्रको निर्वाचन स्थगित भएको छ । शनिवार साँझ अज्ञात समुहको गोलि लागि एक स्थानीय युवकको मृत्यु भएपछि अर्को मिति निर्धारण गर्ने गरि निर्वाचन स्थगित गरिएको हो ।
उता, दैलेखको नारायण नगरपालिका स्थित वसपार्क मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताविच झडप भएको छ । झडपका वावजुद मतदान भने सम्पन्न भएको छ । दैलेखकै भैरवी डोग्रा केन्द्रमा पनि फर्जी मत हालेको विषयमा काँग्रेस र एमालेविच विवाद भएको थियो । यद्यपी, त्यहाँ पनि केही वेरमा मतदान सुचारु भएको थियो ।
त्यस्तै सिन्धुपाल्चोकमा एमाले र माओवादीकेन्द्रविच झडप भयो । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर गरेको थियो । मतदानको समयमा पानी परेपछि काठमाडौं उपत्यका लगायत आसपासका कतिपय मदतादन केन्द्रमा मतदान प्रभावित वनेको थियो ।
रामेछापको दोरम्वा पुन्चेट केन्द्रमा पनि माओवादी केन्द्र र एमालेविच सामान्य झडप भएको थियो । उता तनहुँको भिरकोटको स्थित बालविकास मावि केन्द्रमा पर्टी कार्यकर्ता ओसार्न सवारी साधन प्रयोग गरिएको विषयमा केही वेर विवाद भएको थियो ।
त्यस्तै हुम्लाको खार्कुनाथ गाउँपालिकाको एउटा मतदान केन्द्रमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी कार्यकर्ताले केही वेर मतदान प्रक्रिया अवरुद्ध पारेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले मतदान गर्छन् कि गर्दैनन् भन्ने पनि आम चासोको विषय थियो । तर पूर्वराजा ज्ञानेन्द्र शाहलगायत उनको परिवारका सदस्य मतदानमा सहभागी भएनन् ।