८ बैशाख २०८१, शनिबार
Follow Us

७१ प्रतिशत मतदान : निर्वाचन आयोग

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७४, आईतवार १४:४७

काठमाडौं । निर्वाचनले आयोगले आज भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मतदान भएको जनाएको छ । तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानमा औसत ७१ प्रतिशत मतदान भएको आयोगले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणअन्तर्गत आज वैशाख ३१ गते आइतबार तीन प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जानकारी दिए ।
बिहान ७ बजे मतदान सुरु हुँदा अधिकांश मतदान केन्द्रमा निक्कै भिडभाड देखिएको थियो । त्यसपछि अपरान्ह चर्को घाम र त्यसपछि पानी परेकाले मतदान केही सुस्ताएको थियो । त्यसपछि धेरैले ४५ प्रतिशतसम्म मत खस्ने अनुमान लगाएका थिए । एउटा परिवारबाट मुस्किलले २ वा ३ मत खसेको थियो । छोरा वा छोरी विदेशमा रहेकाले मतदान गर्न असमर्थता दर्शाउँदै घर फर्किएका थिए ।
यो मतदानलाई विदेशमा बस्ने नेपालीहरुले समेत उत्साहजनक बताइका छन् । सामाजिक सञ्जालमार्फत् व्यक्त प्रतिक्रियामा उनीहरुले खुशी व्यक्त गरेको पाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वप्रवक्ता डा. हेमराज शर्मा लेख्नुहुन्छ, जसले जिते पनि संविधान कार्यान्वयनको पहिलो खुड्किलोमा मतदाताको उत्साहजनक सहभागिताले खुशी तुल्याएको छ । केही साता अघि बेलायतमा भएको स्थानीय तहको निर्वाचनमा २५–३० प्रतिशत मात्र सहभागी थिए । डा. शर्मा लेख्नुहुन्छ, नेपालीहरुको उत्साहपूर्ण सहभागितालाई कदर गर्नैपर्छ ।
स्थानीय तहमा पहिलो चरण सम्पन्न मतदानलाई निर्वाचन आयोगले उत्साहजनक मानेको छ । २०४८ सालको तत्कालीन प्रतिनिधिसभाको निर्वाचनमा ६५ दशमलब १५ प्रतिशत मत खसेको थियो भने २०५१ सालमा ६१ दशलमलब ८६, २०५६ मा ६५ दशमलब ७९ प्रतिशत, २०६४ मा ६१ दशमलब ७० तथा २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा ७८ दशमलब ३४ प्रतिशत मत खसेको थियो भने आज ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

१४ हजार ५ सय ९७ प्रतिनिधि छानिदै
मतदान भएका २ सय ८२ पालिकामा कुल मतदाता संख्या ५१ लाख ५८ हजार रहेको छ । यो संख्या कुल मतदाता १ करोड ४१ लाखमध्ये एक तिहाई भन्दा बढी हो । निर्वाचन आयोगका अनुसार २ सय ८२ पालिकाका निम्ति ६ हजार ८ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । जसबाट १४ हजार ५ सय ९७ जनप्रतिनिधिहरु छानिने छन् ।
निर्वाचन भइरहेका पालिकामध्ये जनसंख्याका हिसावले सबै भन्दा ठूलो काठमाडौं हो भने सबै भन्दा सानो मनाङको नार–फु हो । नार–फुमा ५ सय २३ जनसंख्या छ भने काठमाडौंमा ९ लाख ७५ हजार जनसंख्या छ । काठमाडौं महानगरपालिकामा १६५ वटा मतदानस्थल र ३ सय ७९ वटा मतदान केन्द्र छन् । महानगरमा सबैभन्दा बढी वडा नं. ३१ मा ११ वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।