१५ चैत्र २०८०, बिहीबार
Follow Us

महानगरमा हार जीतको हावादारी पूर्वनुमान

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७४, सोमबार १५:२५

काठमाडौं । चारवटै महानगरमा यतिबेला मत गणना जारी छ । भरतपुर, ललितपुर, काठमाडौं र पोखरा महानगरमा एमाले अगाडि देखिएको छ । अन्य गाउँ र नगरपालिकाको मत परिणाममा पनि एमाले अगाडि नै देखियो । यसैलाई आधार मानेर एमाले राप्रपा गठबन्धनका कार्यकर्ता हौसियर सामाजिक सञ्जालमा प्रस्तुत भएका छन् ।
सुरुवाती चरणमा जेजस्तो परिणाम आए पनि काठमाडौं र ललितपुर महानगरमा कांग्रेसले जित्ने सम्भावनालाई नकार्न नसकिने विश्लेषकहरु बताउँछन् । भरतपुरमा कांग्रेसको सहयोगमा माओवादीले जित्ने छ भने पोखरामा एमालेले जित्ने सम्भावना बलियो छ । काठमाडौंमा विवेकशील नेपाली र साझा पार्टीका उम्मेदवारले ल्याएको मतलाई आधार मानेर कांगे्रस पराजित हुने अनुमान गरिएको छ । यसलाई आधारमा मानेर पूर्वानुमान गरिएको हो भने त्यो भोलिसम्ममा गलत सावित हुने बताइएको छ ।
संविधानसभाको गत निर्वाचनमा काठमाडौं महानगारपालिकाभित्रको मात्रै मतको मोटामोटी हिसाब गर्ने हो भने नेपाली कांग्रेसको ९० हजार हाराहारीमा, एमालेको ६० हजार हाराहारीमा, माओवादीको २५ हजार हाराहारीमा र राप्रपाको १५ हजार हाराहारीमा देखिन्छ । एमाले र राप्रपाको मत जोड्दा ७५ हजार हाराहारीमा पुग्छ भने कांग्रेस एक्लैको ९० हजार हाराहारीमा मत छ । तर राप्रपाको सबै मत एमालेले पाउन सक्ने अवस्था छैन । यसका विविध आधारहरु छन् । एमालेभित्रको अन्तद्वन्द्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसैगरी, एमालेबाट दुईपटकसम्म वडाध्यक्षमा चुनाव जितेका नेता पवित्र बज्राचार्य संघीय समाजवादी फोरमबाट मेयरमा चुनाव लडेका छन् । उनले बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग तालमेल गरेका छन् ।
ललितपुरमा नेपाली कांग्रेसको ५६ हजार, एमालेको २३ हजार र माओवादी केन्द्रको २१ हजार भोट देखिन्छ भने राप्रपाको चार हजार भोट देखिन्छ । ललितपुर महानगरपालिकामा संसदीय निर्वाचन क्षेत्र नम्बर २ को झण्डै आधा हिस्सा र ३ को दुई तिहाइ हिस्सा पर्छ । संविधानसभाको गत निर्वाचनमा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले ३२ हजार, एमालेले नौ हजार र माओवादीले १२ हजार भोट प्राप्त गरेका थिए । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले २४ हजार, एमालेले १२ हजार र माओवादीले ११ हजार भोट प्राप्त गरेका थिए ।
संविधानसभाको गत निर्वाचनमा कास्कीका चारवटा निर्वाचन क्षेत्रमा एमालेले ५४ हजार मत पाएको छ भने कांग्रेसले ५१ हजार मत पाएको छ । यसैगरी, माओवादी केन्द्रले २३ हजार मत पाएको छ । कास्कीका एउटा महानगर र चारवटा गाउँ गरी जम्मा पाँच पालिका रहेका छन् । महानगरभित्रको मात्रै मत विश्लेषण गर्दा एमाले कांग्रेसभन्दा पाँच हजार मतले अघि रहेको गत निर्वाचनको परिणामले देखाउँछ । कांग्रेस र माओवादीबीच तालमेल हुँदा एमालेको भन्दा करिब १० हजार मत बढी हुन आउँछ ।
संसदीय निर्वाचनका दुईवटा क्षेत्र भरतपुर महानगरपालिकाभित्र पर्छन । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका भीमबहादुर श्रेष्ठले एमालेका कृष्णभक्त पोखरलेको भन्दा करिब तीन हजार मत कम पाएका थिए । क्षेत्र नम्बर ४ मा भने कांग्रेस सभापति सुशील कोइरालाले एमालेकी पार्वती रावलभन्दा १० हजार मत बढी पाएका थिए । यो हिसाबले भरतपुरमा कांग्रेसको मत ३४ हजार र एमालेको मत २५ हजार देखियो । कांगे्रसको मतमा माओवादी केन्द्र थपिदा रेणु दाहालको जीत सुनिश्चित जस्तै छ ।