१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सभापति देउवाविरुद्ध कांग्रेस कार्यकर्ता गालीगलौजमा

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७४, बुधबार १६:१३

काठमाडौं । हालसम्मको चुनावी परिणामले सत्ता बाहिर रहेको नेकपा एमालेलाई नेपाली कांग्रेसले उछिन्न त परै जाओस् संख्याको दूरी अझ फराकिलो बन्दै गइरहेको छ । अर्थात् परिणाम सार्वजनिक हुने क्रम जारी छ, एमालेको फेरो समातेर कांगे्रस घिस्रिदैछ ।
यो परिणाम आउनुमा एमालेको संगठन बलियो भएर होइन, कांगे्रसको संगठन ध्वस्त भएर हो भन्ने निष्कर्ष कांगे्रस शुभचिन्तकले निकालेका छन् । उनीहरुले अनुमान गरेभन्दा फरक परिणाम सार्वजनिक हुन थालेपछि पार्टी सभापति शेरबहादुर देउवाको गतिविधिबारे विश्लेषण गर्न थालिएको छ । प्रधानमन्त्री बन्नकै लागि माओवादीसँग तालमेल गरेको, टिकट वितरणमा सक्षम व्यक्तिभन्दा पनि भागवण्डा गरेको, प्रहरी प्रमुखको नियुक्ति बखेडा झिकेको, सर्वोच्च अदालतका प्रधानन्यायधीशमाथि महाअभियोग प्रकरणले कांगे्रसको शाख गिराउन सभापति देउवाको भूमिकाले काम गरेको विश्लेषण हुन थालेको छ ।
निर्वाचन सम्पन्न भएका जिल्लाका कांगे्रसी शुभचिन्तकले सभापति देउवाको आलोचना मात्र गरेका छैनन्, आम चाकरीको गालीसमेत गर्न थालेका छन् । सामाजिक सञ्जालमा समेत सभापति देउवाविरुद्ध कांग्रेसीहरुले नै विष वमन गरिरहेका छन् ।
देशको आर्थिक वृद्धि दर उच्च बनाएर, लोड सेडिङ अन्त्य गर्दै पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता त्याग्दैछन् । त्यसपछि प्रधानमन्त्री बन्ने भनिएका कांग्रेस सभापति देउवाका लागि दोस्रो चरणको निर्वाचन त्यत्ति सहज छैन । संविधान संशोधन बिना मधेश केन्द्रित दलहरु स्थानीय तहको निर्वाचनमा जाने छैनन् भने संविधान संशोधनका लागि दुई तिहाई पु¥याउन देउवालाई त्यत्ति सजिलो छैन ।
पहिलो चरणको निर्वाचनमा ६ नम्बर प्रदेशमा कांग्रेसले करारी पराजय व्यहोर्दैछ । सभापति देउवासँग असन्तुष्ट जिल्ला सभापतिहरुको स्वरले स्थानीय तहको निर्वाचनमा गम्भीर धक्का पुग्यो भनेर विश्लेषण गर्दा खासै फरक पर्दैन ।
प्रदेश नं. ३ र ४ नम्बरमा भने सन्तोषजक परिणाम कांगे्रसले हात पार्ने संकेत देखिएको छ । गण्डकी बेल्टमा अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, तथा युवा नेताहरुले भरिभराउ यस क्षेत्रमा पनि कांगे्रसले आशातित सफलता भने हात पार्न सकेको छैन । यो प्रदेशमा रहेको एउटा मात्र महानगरमा भने समेत एमालेको पछि कांगे्रस हिड्न बाध्य छ ।
तीनवटा महानगर रहेको प्रदेश नं. ३ मा कांगे्रसले एमालेलाई उछिन्ने प्रयास गर्दैछ । तीनमध्ये दुईवटा महानगरको मेयरमा उम्मेदवारी दिएको कांगे्रसका लागि त्यत्ति सहज भने देखिएको छैन । निर्वाचन परिणाम आइरहेकाले अहिले नै महानगरबारे विश्लेषण गर्न हतार हुनेछ । यद्यपि महानगरबाहेक अन्य नगर र गाउँपालिकामा कांग्रेसले सन्तोषजनक सफलता हात पार्दै गएको छ ।
पहिलो चरणको निर्वाचनमा कांग्रेस अगाडि हुन सकेन भने दोस्रो चरणको निर्वाचन उसका लागि फलामको च्यूरा साबित हुने विश्लेषण गरिएको छ । १ नम्बर प्रदेशको पहाडी जिल्लामा एमालेको संगठन बलियो छ । तराई बेल्टमा पनि कांग्रेस एमालेको संगठन लगभग उस्तै देखिएको छ ।
२ नम्बर प्रदेशमा मधेशी दलहरु नै हाबी हुने देखिएको छ भने पहाडी समुदाय रहेको तराई क्षेत्रका बासिन्दा एमालेमा सहानुभूति राख्छन् । ५ नम्बर प्रदेशको पहाडी बेल्टमा एमाले हाबी हुने संकेत नवलपरासीको चुनावले देखाइसकेको छ । ५ नम्बर प्रदेशबाट पहाडी इलाका छुटाउने कांगे्रस माओवादी सरकारको निर्णय विरुद्ध एमालेले दह्रो खुट्टा टेकेको थियो । त्यसैको परिणामस्वरुप स्थानीय जनताले एमालेलाई साथ दिने अनुमान गरिएको छ ।
७ नम्बर प्रदेशको पहाडी बेल्टमा कांग्रेसको संगठन बलियो भए पनि आन्तरिक कलहले नतिजा सकरात्मक आउनेमा शंका गर्न थालिएको छ । तराई बेल्ट थारु समुदायको बाहुल्यता छ, जो पहाडी समुदायसँग ‘इगो’ साँधेर बसेका छन् ।
– सुनयना राउत