१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री दाहालको संविधान संशोधन प्रस्ताव एमालेले सुन्नै चाहेन

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७४, शुक्रबार १६:२४

काठमाडौं । संविधान संशोधन गरेर मात्र दोस्रो चरणको निर्वाचनमा जानुपर्ने सुझाव राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले सात दलको बैठकमा राखे । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार साँझ सात दलको बैठक बोलाउनु भएको थियो । बैठकमा प्रधानमन्त्री दाहालले आफ्ना कुरा राखेपछि एमाले र मधेश केन्द्रित दल राजपाले धारणा राखेका थिए । प्रधानमन्त्री दाहालले स्थानीय तहको सीमांकन हेरफेर र संविधान संशोधनको प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव प्रतिपक्षी दल एमालेले सुन्न पनि चाहेन ।
प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल मिलेर बाँकी सबै निर्वाचन गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रमुख सात राजनीतिक दलको बैठकमा उहाँले संविधान कार्यान्वयनको पहिलो खुट्किलाका रुपमा रहेका सबै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो । बैठकमा तराई–मधेसमा स्थानीय तहको सङ्ख्या थप, संविधान संशोधन विधेयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेटलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्रीले प्रचण्डले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवका विषय भएको बताउँदै निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल र मतदातालाई धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले संविधान कार्यान्वयन नै सबैभन्दा ठूलो कार्यभार र जिम्मेवारी भएकामा जोड दिँदै निर्वाचनको सहज वातावरणका लागि राजनीतिक दलहरुको एकता र सहकार्य आवश्यक भएको बताउनुभयो ।
प्रमुख प्रतिपक्ष दल एमाले र मधेस केन्द्रित दलका नेताहरुले प्रधानमन्त्रीको प्रस्तावमाथि आआफ्ना धारणा राख्नुभएको थियो । बैठकले राजनीतिक सहमतिबाटै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै छलफललाई निरन्तरता दिने निर्णय गरेको सल्लाहकार अचार्यले उल्लेख गर्नुभयो । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री विमलेन्द्र निधि र विजयकुमार गच्छदार, एमाले उपाध्यक्ष भीमबहादुर रावल, नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, राप्रपाका नेताहरु विक्रम पाण्डे र सुनिलबहादुर थापा, राष्ट्रिय जनता पार्टीका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र अनिलकुमार झा, सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोककुमार राईलगायत शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।