१३ बैशाख २०८१, बिहीबार
Follow Us

पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सुचारु गर्ने तयारी

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७४, आईतवार १५:५५

कास्की । निर्वाचन आयोगले मतगणना अघि बढाउन निर्देशन दिएपछि पोखरा–लेखनाथ महानगरको रोकिएको गणना सुचारु गर्ने तयारी भएको छ । पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तीक छापको आकार ठूलो भेटिएपछि शनिवार साँझदेखि त्यहाँ मतगणना रोकिएको थियो ।

आज बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगमा सोध्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले ठूलो स्वस्तिक छाप भए पनि मतपत्र र मतदान अधिकृतको हस्ताक्षर सही भएमा गणनालाई निरन्तरता दिन निर्देशन गरेपछि मतगणना सुरु गर्ने तयारी भएको हो ।

हिजो ठूलो आकारको स्वस्तीक छाप लागेको मतपत्र मान्य नहुने भन्दै मतगणनास्थलमा रहेका कांग्रेस प्रतिनिधिले बिरोध जनाएपछि गणना रोकिएको थियो । ५ हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको थियो ।

हालसम्म त्यहाँ वडा नम्बर १ देखि १५ सम्मको सबै गणना सकिएको छ भने वडा नम्बर १६, १७, १८ को गणना सुरु भएपछि हिजो विवाद भएको थियो । विवाद हुन अघिको गणनामा एमाले उम्मेदवार मानबहादुर जिसी कांग्रेसका रामजी कुँबरभन्दा झण्डै तीन हजारले अगाडि थिए ।

जिसीले २२ हजार ३ सय २९ र कुँबरले १९ हजार ९ सय ३ मत प्राप्त गरेका थिए । स्थगित मतगणना छिटो सुचारु गर्न माग गर्दै मतगणनास्थल नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको परिसर वाहिर एमाले कार्यकर्ताले नाराबाजी गरेका थिए । यता, विवादपछि रोकिएको भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि मत गणना सुरु भएको छैन ।