१९ बैशाख २०८१, बुधबार
Follow Us

सभापति देउवालाई सन्तुलन मिलाउन हम्मे

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७४, सोमबार १०:२०

काठमाडौं । सम्झतः भोलि संसद अवरुद्ध भएन भने नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुने छन् । सभापति देउवा प्रधानमन्त्री बन्ने प्रक्रिया सुरु भएसँगै सत्ता साझेदार दलहरूले सम्हाल्ने मन्त्रालयबारे छलफल सुरु भएको छ । पहिलो चरणको छलफल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भइरहेको छ ।
महत्वपूर्ण मन्त्रालयमध्ये अर्थ र परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले र गृह र ऊर्जा मन्त्रालय माओवादीले सम्हाल्ने प्रारम्भिक सहमति भएको बुझिएको छ । मन्त्रालयको सहमति मिलाउन नेपाली कांग्रेसका विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माबीच छलफल भएको थियो । असार १४ को निर्वाचन अगाडि ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीमा रहेका देउवाले पहिलो चरणमा पार्टीबाट पाँचजना नेतालाई मात्र जिम्मेवारी दिने सम्भावना छ ।
पार्टीभित्रका अग्रज नेता, मन्त्रालय चलाउने विषयगत ज्ञान तथा अनुभव संगालेका नेता, एकपटक पनि अवसर नपाएका सिनियर सांसदहरूलाई जिम्मेवारी दिने मनस्थितिमा सभापति देउवा रहेको बुझिएको छ । तर संविधानमा समानुपातिक समावेशिता अंगीकार गरिएका कारण जातीय, क्षेत्रीय, सामुदायिक तथा लैंगिक सन्तुलनसमेत मिलाउनुपर्ने हुन्छ ।
पार्टीको आन्तरिक काममा महत्वपूर्ण सहयोग गरिरहेका नेता ज्ञानेन्द्र कार्कीले पहिलो चरणमै जिम्मेवारी पाउने अनुमान गरिएको छ । उपप्रधानमन्त्रीको जिम्मेवारी पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठले पाउने सम्भावना देखिएको छ । कुल जनसंख्याको १० प्रतिशत हिस्सा दलित समुदायले ओगटेको छ । जसका कारण मीन विश्वकर्माको पनि पल्ला निकै भारी देखिएको छ । भीमबहादुर तामाङको निधनपछि देखिएको रिक्ततालाई पूरा गर्दै अघि बढेका बहादुरसिंह तामाङ पनि मन्त्री बन्ने सूचीमा छन् । मधेसी तथा मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने नेता फरमुल्लाह मन्सुरको नाम पनि निकै चर्चामा छ । महिलाका तर्फबाट डिना उपाध्याय, अम्बिका बस्नेत र किरण यादवको नाम चर्चामा छ । केन्द्रीय सदस्य डिनाको सम्भावना अत्यधिक छ ।
सुदूरपश्चिमबाट वीरबहादुर बलायर र बहादुरसिंह थापामध्ये एकजनाले अवसर पाउने बताइन्छ । लुम्बिनी क्षेत्रबाट भरत शाह पनि त्यतिकै चर्चामा छन् । चन्द्र भण्डारी, युवा नेता ध्रुव वाग्लेदेखि भीष्मराज आङदेम्वे, डिकबहादुर लिम्बूको नाम पनि मन्त्रीका लागि चर्चामा छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शंशाक कोइराला तथा पूर्वमहामन्त्री सिटौलाले भीमसेनदास प्रधानलाई अघि सार्ने अथवा आफैंले उपप्रधानमन्त्री माग गर्ने हुन् स्पष्ट भइसकेको छैन । खुमहादुर खड्काले मोहन बस्नेतलाई अघि बढाउने बताइएको छ ।