१२ बैशाख २०८१, बुधबार
Follow Us

आफ्नो आग्रहमा कतारसँग खाडी मुलुकले सम्बन्ध विच्छेद गरेको ट्रम्पको दावी

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७४, बुधबार ०४:१७

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मध्यपूर्वको भ्रमण र कतारलाई अन्य छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेको सोमबारको निर्णयलाई जोड्नुभएको छ ।
ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छ, “मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिवादलाई अबका दिनमा सहायता नदिइने जनाएको थिएँ, हेर्नुहोस् अरब मुलुकका नेताले यसमा कतारलाई सावधान गराएका छन् ।”
अमेरिकी राष्ट्रपति साउदी अरब र ट्रम्पका मध्यपूर्व भ्रमणको एक महिना नबित्दै छ अरब राष्ट्र र कतारबीच तनाव देखिएको छ । साउदी अरबलगायतका छ मुलुकले कतारविरुद्धको सम्बन्ध विच्छेदको घोषणा गर्दै मुस्लिम मुलुकबीच एकताको खाँचो समेत औल्याएका छन् ।
अमेरिकी सेनाले कतारमा यस क्षेत्रको सैन्य कारबाहीका लागि ठूलो हवाई अड्डा राख्दै आएकोमा यसलाई अब इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध लक्षित गरेको छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी मुलुकबीच एकता कायम राख्दै समस्या समाधानका लागि काम गर्न आह्वान गर्नुभएको छ ।
आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । उनीहरूले आगामी १४ दिनभित्र आफ्ना नागरिकलाई स्वदेश फर्कनसमेत आग्रह गरेका छन् ।
इजिप्टसहित अरब राष्ट्रका विभिन्न छ मुलुकले आफ्ना यातायातका सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या परेको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्र्याउने गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गरी रियादले कतारले आतङ्कवादी समूह र पृथकतावादी कट्टरपन्थी मुसलमानलाई सघाउँदा समग्र अरब क्षेत्रको शान्ति तथा सुरक्षामा समस्या आएको जनाएको थियो । अरबले मुस्लिम ब्रदरहुड दाएस (आईएस) र अल कायदा समूहलाई सहयोग गरिरहेको अरबको आरोप छ ।
कतारले आतङ्कवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै कतारमाथि लगाइएका सबै आरोपको खण्डन गरेको थियो ।
छिमेकी अरब राष्ट्रहरूले लगाएको आरोपको खण्डन गर्दै कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कतारमाथि लगाइएका आरोप तथ्यमा आधारित नरहेका तर झुटा र आधारहीन दाबीमात्र भएका जनाएको थियो ।कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षडयन्त्रबाट अरब राष्ट्रहरूको पछिल्लो निर्णय आएको दाबी गरेको छ ।
इरानले कतार र अन्य अरब मुलुकवीच देखिएको समस्या राजनैतिक वार्ता र शान्तिपूर्वक समाधान गर्न दुवै पक्षवीच सम्वाद गर्न आग्रह गरेको छ । कतार लगायत अन्य अरवमुलुकसँग सुमधुर सम्वन्ध भएको अर्को मुलुक टर्कीले अरव क्षेत्रमा देखिएको पछिल्लो समस्या समाधान गर्न टर्की तत्पर रहेको जनाएको छ ।
पछिल्लो समय देखिएको समस्यालाई सामान्य बनाउन इश्तानबुलले कुनै पनि किसिमको सहयोग गर्ने टर्कीका विदेश मन्त्री मेभलुट कभुसोग्लुले सोमबारैसञ्चारमाध्यमसँगको कुराकानीमा बताउनु भएको थियो ।