८ बैशाख २०८१, शनिबार
Follow Us

बलबहादुरको नाम आउनेवित्तिकै देउवा किन झस्के

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७४, शुक्रबार १५:१५

काठमाडौं । दोस्रो चरणको निर्वाचन सम्पन्न नभइ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार नगर्ने हुनुभएको छ । यद्यपि स्थानीय तहको दोस्रो चरणको निर्वाचनभन्दा पनि कांगे्रसबाट को–को मन्त्री बन्दैछन् भन्ने चर्चाले व्यापकता पाएको छ ।
पहिलो चरणको मन्त्रिमण्डलमा महेश आचार्यलाई सहभागी गराएको भए पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको सर्वत्र प्रशंसा हुने बताइएको छ । मन्त्रिमण्डल बनेको दुई घन्टापछि नै अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको आलोचना कांगे्रसभित्रबाटै सुरु भयो । अर्थशास्त्रको ज्ञान नभएका कार्कीलाई अर्थमन्त्री बनाइएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीकै आलोचना भएको थियो ।
आचार्यलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री देउवाले गरेका थिए । तर कार्कीले अर्थमन्त्रीमा लिँडे ढिप्पी नछाडे पनि आचार्यको नाम मन्त्री हुने लिस्टबाट काटिएको थिएन । आचार्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले रोके । हाम्रो भागमा कुन कुन मन्त्रालय पर्छ, त्यसको निक्र्योल गरेपछि मात्र मन्त्रीको नाम सिफारिस गर्ने निर्णय नेता पौडेलको सम्पर्क कार्यालय अनामनगरमा बसेको बैठकले गरेको थियो ।
पौडेल पक्षले यसपटक बलबहादुर केसीलाई पनि मन्त्रीको लिस्टमा राखेको छ । केसीलाई मन्त्री बनाउने लिस्टमा राखेको सुइको पाउने वित्तिकै प्रधानमन्त्री देउवा झस्केको बताइन्छ । केसीलाई मन्त्रीका रुपमा अगाडि सार्दा देउवा किन झस्के, यो जिज्ञासाको जवाफ सजिलै पाउन कठिन छ ।
केसीसँग प्रधानमन्त्री देउवा मात्र होइन, तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासमेत डराउँथे । ३६ सालको विद्यार्थी आन्दोलन हाँकेका केसी सोलुखुम्बुका हुन् । १३ औं महाधिवेशन प्रतिनिधिबाटै केसीलाई बाइकट गर्न खोजिएको थियो, तर उनले पार्टी कार्यालयमा अनसन बसेर भए पनि प्रतिनिधि बनेरै छाडे । सोलुबाट केसीलाई विस्थापित गर्न आङगेलु शेर्पालाई अघि बढाइएको छ ।
लडाकू छवी बनाएका केसी एक्सन ओरेन्टेड नेता हुन् । मन्त्री भएकै बेला धनकुटाकी एक महिलाको कोठामा पर्खाल चढेर पुगेपछि उनको नाम पर्खालमन्त्री समेत राखिएको थियो । यद्यपि उक्त घटना कोइरालाहरुले केसीको बद्नाम गर्न सुनियोजित रुपमा घटाइएको बताउनेहरु पनि छन् ।
तत्कालीन सन्त नेता कृष्णप्रसाद भट्टराई केसीको संरक्षण गरेका थिए । भट्टराई रहुञ्जेल केसीले उनलाई साथ दिए । कोइराला विरोधी क्याम्पा उभिए पनि देउवासँग उनको कहिले राम्रो सम्बन्ध भएन । तत्कालीन समयमा नेविसंघको नेतृत्व देउवाको हातमा भए पनि केसी एक्लैले आन्दोलन हाँकेका थिए । त्यसबेलादेखिको उनीहरुबीचको कटुता अहिलेसम्म कायमै रहेको बताइन्छ ।
– सुनयना राउत