१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालमा ट्राफिक व्यवस्थापन र सड़क सुरक्षा विषयमा एनआरएन र लण्डन दूतावासबीच अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार २०:१२

नेपालको ट्राफिक व्यवस्थापन र सड़कलाई कसरी वैज्ञानिक, सुरक्षित र प्रयोगकर्तामैत्री बनाउने भन्ने विषयमा एनआरएन युके र बेलायतका निम्ति नेपाली राजदूतावासबीच आज छलफल भएको छ ।

एनआरएन अन्तरराष्ट्रिय समिति अन्तर्गत ‘स्किल ट्रान्सफर टास्क फोर्स’का सदस्य थर्क सेनको नेतृत्वमा एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरूंग, सल्लाहकार वाचस्पति रेग्मी, पत्रकार नारायण गाउँलेलगायतको टोलीले महामहिम राजदूत दुर्गाबहादुर सुवेदी, दूतावासका प्रवक्ता शरद राज आरनलगायतका प्रतिनिधिसँग अन्तर्क्रिया गरेको हो ।

संयोजक सेनले अव्यवस्थाको शिकार बनेको नेपालको सड़क सञ्जाललाई बेलायतजस्तो विकसित देशले प्रयोग गरेको प्रविधि अपनाएर सुरक्षित र सहज बनाउन सकिने बताउनुभयो । बेलायत र नेपालको सड़क प्रयोगमा समानता भएकाले यहाँको परीक्षित प्रणालीलाई त्यहाँ पनि प्रयोग गर्न सकिए समय र स्रोत को बचत हुने उहाँको भनाइ थियो ।

एनआरएनको प्रतिनिधिका रूपमा सेनले सड़क व्यवस्थापन र रोड सेफ्टी विषयमा नेपालमा लैजान सकिने सिप, प्रविधि र अभियानबारे विस्तृत अध्ययन गरेर तयार गरेको प्रतिवेदनलाई सम्बन्धित पक्षसम्म पुर्याएर कार्यान्वयनका निम्ति सहजीकरण गर्ने प्रतिबद्धता राजदूतले व्यक्त गर्नुभएको थियो । देश नयाँ संरचनामा गएको र शक्तिसम्पन्न स्थानीय निकायले सड़क व्यवस्थापनमा एनआरएनका विज्ञहरूबाट यसरी पाइन सक्ने प्राविधिक सरसल्लाहको खुलेर उपयोग गर्नसक्ने धारणा राजदूत सुवेदीले राख्नुभएको थियो ।