१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन सार्ने निर्णयको समीक्षा गर्न राजपाको बैठक

नेपालब्रिटेन डट कम्
२ असार २०७४, शुक्रबार ०९:०१

काठमाडौं । २ नम्बर प्रदेशको मात्रै निर्वाचन सार्ने सरकारको निर्णयको समीक्षा गर्न राष्ट्रिय जनता पार्टीको बैठक आज बस्दैछ । चुनाव सार्ने निर्णयका विषयमा राजपाका नेताहरुबीच नै फरक फरक धारणा आएपछि औपचारिक धारणा तय गर्नका लागि बैठक बस्न लागेको हो ।
राजपाका नेताहरुले प्रदेश नम्बर दुईको मात्र चुनाव सार्ने निर्णयप्रति प्रारम्भिक प्रतिक्रिया जनाउदै तराईमा विभाजन ल्याउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन ।
बिहीबार मन्त्रिपरिषदले राजपा नेपाललाई सहमतिमा ल्याउन भन्दै प्रदेश नम्बर दुईको स्थानीय तहको चुनाव असोज दुई गते गर्ने निर्णय गरेको थियो । त्यसबारे औपचारिक धारणा तय गर्न आज राजपा नेपालको अध्यक्षमण्डलको बैठक बोलाइएको हो ।
चुनावमा भाग लिने प्रतिबद्धता जनाएको संघीय समाजवादी फोरम नेपालले विना आधार चुनाव सार्ने निर्णय लिइएको भन्दै त्यसको औचित्य पुष्टि गर्न सरकारलाई भनेको छ । शुरुमा बैशाख ३१ गते एकै चरणमा गर्ने भनिएको स्थानीय तहको चुनाव राजपा नेपाललाई सहमतिमा ल्याउन भन्दै दुई चरणमा गर्ने निर्णय लिइएको थियो ।
त्यसबाट पनि उक्त दल सन्तुष्ट नभएपछि चुनाव असार १४ गते सारिएको थियो । बिहीबार राजपा नेपालका नेताहरुसँग सत्तारुढ दलका नेताहरुले गरेको छलफलपछि मन्त्रिपरिषदले चुनाव सार्ने निर्णय गरेको थियो ।