१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालको संविधानप्रति भारतको पूर्ववत धारणा यथावत

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार ०७:५४

नयाँ दिल्ली । भारतले नेपालमा समावेशी संबिधानका लागि सरोकारवालाबीचको सम्वादलाई प्राथमिकता दिने बताएको छ । हिजो शुक्रबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता गोपाल वागलेले नेपालमा समावेशी संबिधानका लागि समाजका सबै तह र तप्कालाई साथ लिनु आवश्यक भएको बताएका हुन ।
उनले समावेशी राजनीतिक प्रणाली र समावेशी संबिधानका लागि सरोकारवालासँग भएको वार्ता र समाजका सबै तह र तप्कालाई सँगै लिएर हिडन नेपाल सरकारले गरेको पहलको भारतले समर्थन गर्ने पनि बताए ।
पछिल्लो समय संबिधान संसोधन र मधेसवादी दलका मागबारे भारतले पूर्ववत अडान छाडेको चर्चा चलेपनि नेपालको संबिधानबारे पूर्ववत धारणा यथावत रहेको जानकारी भारतले गराएको हो । प्रवक्ता वागलेले भारत नेपालका सबै राजनीतिक दलसँग परामर्शमा रहेको र आफ्नो धारणा प्रस्ट रुपमा राखेको पनि जानकारी दिए । उनले नेपाली जनता र नेपाल सरकारले शान्ति, सम्बृद्धि तथा स्थायित्वतर्फ जान गरेको प्रयास सफल हुनेसमेत बताए ।