१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजपाका नेताद्वारा स्वतन्त्रमा उम्मेदबारी दर्ता, जनकपुरमा तनाव

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार ०८:४०

काठमाडौं । राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचनमा भाग नलिए पनि उक्त दल आबद्ध नेताले केही स्थानीय तहमा स्वतन्त्र रुपमा उम्मेदबारी दर्ता गराएका छन् । कपिलबस्तु, रुपन्देही लगायतका जिल्लामा राजपाका नेताहरुले स्वतन्त्र उम्मेदबारी दर्ता गराएका हुन । कपिलवस्तुको कपिलवस्तु नगरपालिका प्रमुखमा राजपाका नेता एवम् तत्कालीन तौलिहवा नगरपालिकाका पूर्व मेयर रामदाश गुप्ता र उपमेयर वासुदेव कसौधनले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन ।
पार्टीले निर्वाचन वहिस्कार गर्ने भने पनि उनीहरुले पार्टी नेतृत्वको स्वीकृतिमै उम्मेदवारी दर्ता गराएको बताएका छन । रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा पर्ने समरीमाई गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित बडाध्यक्ष सहितका सम्पूर्ण पदमा राजपाका कार्यकर्ताले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
गाँउपालिकाको प्रमुखमा अशोक शुक्ला र उपप्रमुखमा कमाल उद्धिन शेखले उम्मेदबारी दर्ता गराएका हुन । राजपाको प्रभाव रहेका केही अन्य स्थानीय तहमा पनि स्वतन्त्र रुपमा उम्मेदबारी परेको बताइएको छ ।

जनकपुरमा तनाव
यता, जनकपुरमा निर्वाचन आयोगले आजको लागि तय गरेको मनोनयन दर्ताको विरोधमा बन्द आह्वान गरेका राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् ।
आफूहरुको माग सम्बोधन नभई प्रदेश नम्बर १,५ र ७ मा दोस्रो चरणको स्थानीय तहको चुनाव गर्न लागिएको भन्दै आक्रोशित राजपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री सरिता साह, राजपा धनुषा संयोजक प्रमेश्वर साह सहित दुई दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।