१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारतमा सन् २०१२ सम्झाउने अर्का बलात्कारको घटना

नेपालब्रिटेन डट कम्
६ असार २०७४, मंगलवार ०८:४३

नयाँ दिल्ली । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्का घटना सोमबार राति भएको छ । भारतीय राजधानी क्यापिटल नजिकै एकजना ३५ बर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घन्टासम्म बलात्कार गरेको घटनाको समाचार मङ्गलबार भारतीय मिडियाहरुमा छ्याप्छ्याप्ती आएको छ ।
प्राप्त समाचारअनुसार सोमबार राति ती महिलालाई नयाँ दिल्लीबाट करिब ३० कीलोमीटर परको सोहना सडकमा हिँडिरहेको बेलामा नाटकीय रुपमा अपहरण गरी गुडिरहेको कारमा राखिएको थियो ।
सो कारमा चार घन्टासम्म राखेर कारमा रहेका तीन जनाले बलात्कार गरेको महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् । राति अपहरणमा परेकी उनलाई मङ्गलबार बिहानीपखमात्र नोएडाको अस्पतालनजिक ल्याएर फालिदिएका थिए । सडकमा फालिएकी ती महिला बेहोस अवस्थामा भेटिएकी थिइन् ।
पछि उनलाई अस्पताल परिसरका नागरिकले देखेर प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले अस्पतालको आकस्मिक कक्षमा पु-याएका थिए ।
यस घटनालाई भारतीय सञ्चारमाध्यमहरुले सन् २०१२ को डिसेम्बरमा एकजना मेडिकल विद्यार्थीको छ जनाले बलात्कार गरेर सडकमा फालिदिएको घटनाका रुपमा समाचारमा ल्याएका छन् । उक्त घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नोएडाको प्रहरीले सो घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
ग्रेटर नोएडाका प्रहरी प्रमुख लभ कुमारले भनेका छन्– हामीले ती महिलाको बयानको थप प्रष्टिकरणका साथै उनले देखाएको क्षेत्रमा सिसी क्यामेराका फुटेजहरुको सङ्कलनको काम भइरहेको जनाएका छन् । उनले भने– यो घटना अत्यन्तै क्रुरतापूर्वक र पाँच वर्षअघि मेडिकल विद्यार्थीमाथि भएको घटनालाई थप सम्झाइदिने हिसाबले भएको छ, हामीले अनुसन्धान सुरु गरेका छौँ, तथ्य पत्ता लाग्ने छ ।
त्यस समयमा पनि २३ बर्षीया ती विद्यार्थीमाथि भएको बलात्कारको घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
त्यस घटनाका दोषीमध्ये ४ जनालाई त सर्वाेच्च अदालतको फैसलापछि मृत्युदण्ड दिइसकेको छ । भारत सरकारले सोही घटनापछि नै भारतमा बलात्कारका दोषीलाई कडा सजायको व्यवस्था गरेको छ ।
भारतमा बलात्कारका घटना निकै हुने गर्दछन् । सरकारले जति कडा कानुन ल्याए पनि यस्ता घटनामा कमी भने नआएको अधिकारीहरुले बताएका समाचारमा उल्लेख गरिएको छ ।