१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रचारप्रसारका लागि जम्मा पाँच दिन

नेपालब्रिटेन डट कम्
७ असार २०७४, बुधबार ०८:०५

काठमाडौं । असार १४ मा हुने स्थानीय तहको दोस्रो चरण निर्वाचनका उम्मेदवारले चुनाव चिह्न पाएका छन् । संसदभित्रका २७ दलका उम्मेदवारले दलगत र बाँकी दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको स्वतन्त्र चिह्न पाएका हुन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि निर्वाचन अधिकृतको कार्यालयबाट चिह्न वितरण गरेको हो । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो ।
उम्मेदवारले अब प्रचारप्रसारका लागि जम्मा पाँच दिन पाएका छन् । निर्वाचन मितिभन्दा ४८ घण्टापूर्व मौन अवधि सुरु हुन्छ । त्यस बेला दल वा उम्मेदवार प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन् । सरकारको आग्रहमा आयोगले निर्वाचन कार्यक्रम हेरफेर गरेपछि प्रचार अवधि पूर्वनिर्धारितभन्दा एक दिन घटेको छ । पहिलो चरणका उम्मेदवारले ६ दिन प्रचारप्रसार गर्न पाएका थिए । असार २ लाई तोकिएको मनोनयन दर्ता असार ४ लाई सारिएपछि अवधि छोटिएको हो ।
स्थानीय तह निर्वाचन ऐनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि प्रचारप्रसार अवधि बढीमा १५ दिन रहने व्यवस्था छ । तर, पहिलो चरणमै समयाभावले छोटो अवधि तोक्नुपरेपछि आयोगले दोस्रो चरणमा पनि त्यसैअनुसार कार्यक्रम तय गरेको हो । उम्मेदवार तथा दलले असार ११ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् ।