१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चुनावी भाषणका लागि कुन दलका शीर्ष नेता कहाँ ?

नेपालब्रिटेन डट कम्
९ असार २०७४, शुक्रबार ०८:१८

काठमाडौं । स्थानीय चुनावको धपेडी उम्मेदवारलाई मात्र होइन दलका शीर्ष नेतालाई पनि उस्तै छ । सबैजसो दलका प्रभावशाली नेता कार्यतालिका नै बनाएर आफ्नो पार्टीका उम्मेदवारलाई भोट माग्दै गाउँगाउँ पुगिरहेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेता आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन मैदानमा खटिएका छन् ।

दोश्रो चरणको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार धनगढीमा बिहान चुनावी कार्यक्रमलाई सम्बोधन गरेर कन्चपुरतिर लाग्नुभएको छ ।  उहाँले शुक्रबारदेखि ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने र भोट खसालेर मात्र काठमाडौं फर्किने तयारी गर्नुभएको छ ।

शुक्रबार कैलालीमा हुने सभालाई सम्बोधन गरेसँगै प्रधानमन्त्री देउवाले तीन दिन ७ नम्बर प्रदेशमै बिताउनु हुनेछ । उहाँ कञ्चनपुर, डडेलधुरा, दार्चुलालगायत जिल्लामा हुने दजनौं कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि कांग्रेस उम्मेदवारको पक्षमा माहोल बनाउन ५ नम्बर प्रदेशका जिल्लामा खटिनुभएको छ । नेता पौडेलले तिलोत्तमा, सैनामैनालगायका ठाउँमा चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । उहाँले शुक्रबारदेखि कपिलवस्तु, बाँके लगायत जिल्लाका विभिन्न ठाउँमा चुनावी कार्यक्रममा सहभागी हुनुहुनेछ ।

कांग्रेस महामन्त्री सशांक कोइराला भने चुनावी गतिविधिबाट टाढा हुनुहुन्छ । उहाँ छोरीको दिक्षान्त समारोधमा सहभागी हुन बुधबार अमेरिका जानुभएको छ । उहाँ १८ गते मात्र नेपाल फर्किनु हुनेछ । कांग्रेसका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौला एक हप्तादेखि झापामा भोट मागीरहनुभएको छ । कांग्रेसका नेताहरु शेखर कोइराला, गगन थापा, रामशरण महत लगायत चुनावका कारण ब्यस्त हुनुहुन्छ ।

एमालेका नेतालाई पनि चुनावको धपेडी कम छैन । अध्यक्ष केपी शर्मा ओली तीन दिन झापामा एक दजर्नभन्दा धेरै सभालाई सम्बोधन तथा घरदैलो गरेर बिहीबार काठमाडौं फर्किनुभएको छ ।

झापामा एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौलाबिच कसले बढी क्षेत्रमा आफ्नो पार्टीलाई जिताउने भन्ने प्रतिस्पर्धा पनि छ । एमाले वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ गृह जिल्ला इलाम र आसपसका क्षेत्रमा पार्टीका उम्मेद्वारलाई जिताउन लागिपरेका छन् । एमाले नेता माधव नेपालले भोलिदेखि उदयपुर, कञ्चनपुर, धरान र विराटनगरमा हुने चुनावी सभामा सहभागी हुँदै हुनुहुन्छ । उपाध्यक्ष मावदेव गौतम बर्दिया र प्युठान, महासचिव ईश्वर पोखरेल ओखलढुंगा, खोटाङ उपमहासचिव विष्णु पौडेल बुटवल, सचिव प्रदिप ज्ञवाली गृह जिल्ला गुल्मीमा हुनुहुन्छ ।

चुनावका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा धेरै खटिनुभएको छ । प्रधानमन्त्रीबाट बाहिरिए लगत्तै उहाँ चुनावी सभालाई सम्बोधन गर्न धेरै जिल्लामा पुग्नुभएको छ । बिहीबार उदयपुर पुगेका दाहाल आज बिहानै बाँकेको नेपालगञ्ज बर्दिया र आसपासका क्षेत्रमा पुग्नुभयो । उहाँले बिहीबार नै ६ वटा ठूला सभालाई सम्बोधन गर्नुभएको छ ।

गृहमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा लगायत माओवादीका अरु नेता पनि आ आफ्ना जिल्ला र क्षेत्रमा खटिएका छन् । नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराई पनि ठाउँठाउँमा पुगिरहनुभएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तीनदेखि विराटनगर महानगरपालिकामा व्यस्त हुनुहुन्छ ।

माओवादी चुनावी तालमेल गरेको फोरमले जित्नका लागि अधिकतम कोसिस गरिरहेको छ । त्यसअघि अघि तराईका सबै जसो जिल्लामा पुग्नुभएका यादवको धपेडी २ नम्बर प्रदेशको चुनाव रोकिएपछि केही कम भएको छ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि मोरङ, सुनसरी, झापा लगायत जिल्लामा सक्रिय हुनुहुन्छ । त्यस्तै साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन आग्रह गर्दै पूर्वी नेपालमा ब्यस्त हुनुहुन्छ ।