१५ चैत्र २०८०, बिहीबार
Follow Us

जेलको भुइँमा पूर्वआइजिपीहरू, को-को छन् त जेलमा ?

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार ०३:५९

डिल्लीबजार जेलको लाइब्रेरी रुममा एआइजी र डिआइजीसँगै पूर्वआइजिपी राणा र गुरुङ –
डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको सुत्ने कोठा बनेको छ । अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैँ उपस्थित भई उनीहरू जेल गएका थिए । तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त ठाउँ छैन । जसका कारण पूर्वआइजिपीहरू लाइब्रेरी कोठामा सुत्न बाध्य छन् । पढ्ने कोठा भएकाले त्यहाँ सुत्ने खाटसमेत छैन । उनीहरू भुइँमै सुत्छन् ।

खाग तस्करी पूर्वआइजिपीका कमान्डर
हरेक जेलभित्र जेलर र प्रहरीको आन्तरिक व्यवस्थापन हुन्छ । जहाँ कैदीमध्येबाटै भाइ नाइके, नाइके र चौकीदार छानिन्छन् । उनीहरूले नै जेलभित्र अनुशासनलगायत सबै किसिमको व्यवस्थापन गर्छन् । डिल्लीबजार जेलमा खाग तस्करीको आरोपमा जेल परेका यामकुमार पुन चौकीदार छन् । उनै पुनको निर्देशनअनुसार पूर्वआइजिपीहरू जेलमा चल्नुपर्ने हुन्छ । बिहीबार पुनले जेलको नियमबारे पूर्वआइजिपीहरूलाई जानकारी गराएका थिए । जेलभित्रै मेसमा उनीहरू लाइन बसेर खाना खाने गरेका छन् । जेलमा आफूहरूले सबैलाई समान व्यवहार गर्ने जेलर कार्की बताउँछन् ।

कैद र जरिवानामा २० प्रतिशत छुट हुने भएकाले जेल चलान
नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचारको अभियोगमा उनीहरूलाई विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको थियो । अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएमा कैद र जरिवानामा २० प्रतिशत छुट हुने प्रावधान रहेकाले उनीहरू बुधबार आफैँ अदालतमा उपस्थित भएका हुन् ।

सर्वोच्चले १७ वैशाखमा सुडान भ्रष्टाचार मुद्दाको फैसला गर्दै तीन पूर्वआइजिपी, तीन पूर्वएआइजी र एक पूर्वएसएसपीलाई दोषी ठहर गरेको थियो । फैसलाको सूचना पाएको मितिले दुई महिनाभित्र उपस्थित भएमा छुट हुने प्रावधान छ । दुई महिनाको अवधि ननाघेकाले उनीहरू छुटका लागि चारजना अदालतमा उपस्थित भएका हुन् ।

सर्वोच्चले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा हेमबहादुर गुरुङलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । राणा ०६३ भदौदेखि ०६५ भदौसम्म तथा गुरुङ ०६५ भदौदेखि फागुनसम्म नेपाल प्रहरीको आइजिपी थिए ।

त्यस्तै, दीपकसिंह थाङदेनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा दीपककुमार श्रेष्ठलाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरेको थियो । उनीहरू सुडान मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा प्रत्यक्ष संलग्न थिए । सोही मुद्दामा अदालतले दोषी ठहर गरेका पूर्वआइजिपी रमेशचन्द ठकुरी, पूर्वएआइजी श्यामसिंह थापा र पूर्वएसएसपी रवि राणा उपस्थित भएका छैनन् ।

को–को छन् जेलमा ?
पूर्वआइजिपीहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वएआइजी दीपकसिंह थाङदेन र पूर्वडिआइजी दीपक श्रेष्ठ सोही कोठामा बस्दै आएका छन् । जेलमा नयाँ आउने कैदी–बन्दीले सुत्ने ठाउँ पाउँदैनन् । त्यसकारण उनीहरू लाइब्रेरीमै सुत्नुपर्छ । सुत्नका लागि उनीहरूले घरबाट खाट मगाएका छन् । ‘तत्कालका लागि उहाँहरूलाई लाइब्रेरीमा सुत्ने व्यवस्था मिलाएका छौँ,’ डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले भने, ‘अन्य कोठा खाली भएपछि उहाँहरूलाई सार्छौँ ।’

डिल्लीबजारस्थित कारागारको क्षमता दुई सय २० जनाको हो । तर, जेलमा पाँच सय ७० कैदी–बन्दी छन् । जसकारण उनीहरूले सुत्ने ठाउँसमेत नपाएका हुन् । पूर्वआइजिपी बस्दै आएको कोठामा झ्यालसमेत छैन । गर्मीले त्यहाँ बस्न उनीहरूलाई निकै कठिन छ । राम्रो कोठामा सारिदिन उनीहरूले जेलरलाई आग्रह गर्दै आएका छन् ।

गफगाफ र अध्ययन
डिल्लीबजार जेलमा रहेका पूर्वप्रहरी हाकिमहरूको दैनिकी प्रायः गफगाफमै बित्ने गरेको छ । त्यसबाहेक पत्रपत्रिका, किताब पढेर उनीहरूले दिन बताउने गरेका छन् । डिल्लीबजार कारागारका एक प्रहरीका अनुसार जेल बस्नुपरेकामा उनीहरूमा हीनताबोध देखिएको छैन ।
नयाँ पत्रिकाबाट