१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रमुख प्रशिक्षक जोशीको निधन

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार १०:४४

काठमाडौं । भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनिललाल जोशीको ५३ बर्षको अल्पायुमा निधन भएको छ । उनको हृदय रोगका कारण बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार निधन भएको हो ।
१९९६ मा अमेरिकाको अटलान्टामा भएको २६ औं ओलम्पियकमा सहभागी भएका नेपाल ओलम्पियन संघका अध्यक्ष जोशीले २०४१ सालमा काठमाण्डौमा आयोजित दक्षिण एशियली खेलकुदमा सहभागीता जनाउंदै रजत पदक प्राप्त गर्न सफल भएका थिए । पहिलो देखि सातौं दक्षिण एशियाली खेलकुद सम्म प्रतिस्पर्धा गर्दै ६ रजत र ११ कास्य पदक प्राप्त गरेका थिए ।
नेपाल भारोत्तोलन संघका उपाध्यक्ष समेत रहेका जोशीले खेल जीवन पश्चात २०५२ साल अशोज १ गतेबाट प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषदमा कार्यरत रहँदै २०६३ साल पौष २१ गतेबाट बरिष्ठ भारोत्तोलन प्रशिक्षकमा बढुवा भएका थिए ।
श्रद्धान्जलीको लागि राष्ट्रिय खेलकुुद परिषदमा राखिएको उनको पार्थिव शरिरमा युवा तथा खेलकुद निमित्त सचिव ज्ञानराज सुवेदी तथा कर्मचारीहरु, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पा, पूर्व सदस्य सचिव जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पदाधीकारी, ओलम्पियन खेलाडीहरु, खेलाडी, खेलकर्मी, राखेपका कर्मचारी लगायतले स्व. जोशीको पार्थिब शरिरमा फुल अविरद्धारा श्रद्धान्जली अर्पण गरेका थिए । जोशीको आजै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । जोशीका श्रीमती र एक छोरा रहेका छन् ।
राखेपद्वारा शोक ब्यक्त
राष्ट्रिय खेलकुद परिषद भारोत्तोलनका मुख्य प्रशिक्षक एवं ओलम्पियन सुनिललाल जोशीको निधनमा राष्ट्रिय खेलकुद परिषद गहिरो दुःख ब्यक्त गर्दछ । यस दुःखद घडीमा शोक सन्तप्त परिवार प्रति समवेदना ब्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ ।