६ बैशाख २०८१, बिहीबार
Follow Us

मुग्लिन–नारायणगढ सडकमा फेरी पहिरो खस्यो, कहिले खुल्छ पत्तो छैन !

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार १४:३३

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पहिरो पन्छाएर विहान आठ बजेबाट सवारी आवागमन सुचारु गरिएपनि दिउँसो कालिखोलामा पहिरो झरेपछि सडक पुनः अवरुद्ध भएको हो । विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी रहेकाले तत्काल सवारी आवत–जावत गराउन सम्भव नहुने मुग्लिन–नारायणगढ सडक आयोजनाले जनाएको छ । सडक अबरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।
यसैबीच, शुक्रबार कालीखोलामा खसेको पहिरोले प्रहरी सवार जीप हराएका दुई प्रहरीमध्ये गोर्खा मकैसिंह–१ घर भएका ३१ वर्षीय प्रहरी जवान लिलबहादुर चेपाङको शव नवलपरासीको देवचूली नगरपालिका–१७ नारायणी नदी किनारमा आज भेटिएको छ । तनहुँ भानु नगरपालिका–११ का २१ वर्षीय प्रहरी जवान सन्दीप कार्की अझै बेपत्ता छन् । मुग्लिन–नारायणगढ सडकखण्डमा जोखिम बढेपछि ट्राफिक प्रहरीले बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।