१५ चैत्र २०८०, बिहीबार
Follow Us

भरतपुरका विषयमा असार २७ देखि सुनुवाई हुने

नेपालब्रिटेन डट कम्
१३ असार २०७४, मंगलवार १०:४७

असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज काठमाडाँै पठाएका छन् ।

भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएका मतपत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको हो । मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायब निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाडौँ जानुभएको छ । बिहान ८ः१५ बजेको बुद्ध एअरको विमानबाट उहाँहरु काठमाडौँ जानुभएको हो । उक्त मतपत्र आजै सर्वाेच्च अदालतमा बुझाइने छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाेच्चले माग गरेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि टोलीसँगै पठाएको छ । यसअघि आज बिहान दलका प्रमुख र प्रतिनिधि एवम् उम्मेदवारको रोहवरमा च्यातिएको मतपत्र मतपेटिकामा राखेर सिल गरिएको थियो । सो मतपत्रलाई प्रहरीको स्कर्टिङमा भरतपुर विमानस्थलसम्म पु¥याइएको प्रहरी प्रमुख दीपक थापाले बताउनुभयो ।

सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन असार ६ गते मङ्गलबार आदेश दिएको थियो । कायममुकायम प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको हो । फैसलाको भोलिपल्ट मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र आएकाले पत्र पाएको सातौँ दिन आज कागजपत्र र मतपत्र पठाइएको हो ।

भरतपुर महानगरपालिका–९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वाेच्चमा पुगेको हो । महानगरका २९ वटामध्ये २७ वटाको गणना सम्पन्न भएको छ भने १९ को अन्योलमा रहेको छ । वडा नं २० को मतगणना बाँकी रहेको छ ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् भने नेकपा (एमाले)ले मतगणना जारी राख्नुपर्ने माग गर्दै सर्वाेच्च पुगेको हो । निर्वाचन आयोगले वडा नं १९ मा पुनः मतदान गर्न निर्देशन गरेपछि सो मुद्दा सर्वाेच्च गएको हो । रासस