१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ब्रिटिस गायकको काठमाडौंमा कन्सर्ट

नेपालब्रिटेन डट कम्
२५ असार २०७४, आईतवार १५:२३

काठमाडौं । बेलायतका चर्चित अंग्रेजी गायक जे शनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएका छन् । दरबारमार्गस्थित ‘डेजा भु’ क्लबमा आगामी असार २८ गते बेलुका ७ बजेबाट कन्सर्ट सुरु हुनेछ । सुरुको चार घन्टा नेपाली डिजेहरूको सेसन रहने छ । त्यसपछि राति ११ बजेबाट ‘जे शन साँझ’ मा उनी प्रस्तुत हुनेछन् । उनले डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसंगीत प्रस्तुत गर्नेछन् ।
आयोजक संस्था युहान इन्टरनेसनलले बुधबार दिउँसो काठमाडौंको होटल सोल्टीमा पत्रकार भेटघाट आयोजना गरी जे शनको कन्सर्ट तयारी पूरा भएको जनाएको छ । इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सांगीतिक शृंखलाअन्तर्गत जे शनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । नेपालका जे सनका प्रशंसकहरूको चाहनाअनुसार उनको एकल कन्सर्ट राखिएको पनि इभेन्टसका प्रबन्ध निर्देशक सानु खानले बताए । उनका अनुसार जे शन सांगीतिक कार्यक्रमका लागि आफ्नो डिजे र टिमसहित असार २७ गते बेलुका काठमाडौं आउने छन् । अमेरिकाको न्यूुयोर्कमा बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन् ।
कन्सर्टका मार्केटिङ डिरेक्टर मन्चिन शाक्यले डेजा भु क्लबमा जे शनको कन्सर्टमा करिब ६ हजार दर्शक सहभागी हुने बताए । २५ सय, तीन हजार र पाँच हजार रुपैयाँको टिकट तोकिएको कन्सर्टमा टिकटअनुसारको सुविधा दर्शकले पाउने पनि उनले बताए ।
‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन् २००९ देखि २०१२ सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन् २००८, २००९ र २०११ गरी तीनपटकसम्म बेलायतकै उत्कृष्ट बिएमआई सङ साईटर अवार्ड जितेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा ७० लाख र ट्विटरमा ४० लाख भन्दा बढी फलोअर भएका जेसनले सांगीतिक साँझमा राइड इट…, मेक माई लभ…, स्टोलन…, डाउन डाउन…, आइ एम अल योर्स…, लाईक दिस लाईक द्याट…, डान्स विद यु…, स्टे…ह्वेर यु डु गो..सहित आफ्ना हिट डेढ दर्जन गीत गाउनेछन् ।