११ बैशाख २०८१, मंगलवार
Follow Us

सुन मालिकलाई क्लिन चिट, भरियालाई जेल

नेपालब्रिटेन डट कम्
२८ असार २०७४, बुधबार ०७:४५

काठमाडौं । नेपाल प्रहरीले संगठित अपराधमा मुद्दा चलाएपछि राजश्व विभागबाट फैसला हुने मुद्दा अदालतमा पुग्दा सुन तस्करहरूले सामान्य धरौटीमा छुट्ने मौका पाएका छन् । साढे ३३ किलो सुन ल्याउने साहुजीदेखि सेटिङमा रहनेसम्मले अदालतबाट सामान्य धरौटीमा छुट्ने अवसर पाएका हुन् । त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलबाट २० पुसमा भएको साढे ३३ केजी सुन तस्करीमा संलग्न भएका आरोपीलाई काठमाडौँ जिल्ला अदालतले धमाधम तारेखमा छाडेको छ ।
अदालतले सुन तस्करीमा संलग्नमध्ये विमानस्थल सुरक्षामा खटिएका एसएसपी श्याम खत्रीसहित पाँचजनालाई ‘क्लिन चिट’ दिएको छ । स्रोतका अनुसार सरकारी वकिलको सेटिङमा उनीहरूले ‘क्लिन चिट’ पाएको आरोप लगाउन थालिएको छ । अदालतले ‘क्लिन चिट’ दिन थालेपछि सरकारी वकिलको कार्यालयले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न १६ चैतमा निवेदन दिए पनि त्यो औपचारिक मात्रै रहेको बताइन्छ । मुद्दा चर्चामा आएको र राजनीतिकर्मीहरूको ध्यान निर्वाचनतर्फ केन्द्रित रहेका बेला सुन तस्करलाई छुटाउने प्रपञ्च रचिएको स्रोतले जनाएको छ ।
मुख्य आरोपीलाई छाडेर भरियालाई भने जेल चलान गरिएको छ । सुन तस्करीमा संलग्न भरियालाई कारोबारी मान्दै रामहरि कार्की, तस्करीको सुन व्यवस्था मिलाउने दिलबन्धु थापा, सन्तोष काप्mले र सुनको भरिया गोपाल शाही, एक्सरेमा बस्ने भन्सार कर्मचारी राजकुमार ढकाल र कर्मचारी श्यामकृष्ण श्रेष्ठलाई अदालतले जेल चलानको आदेश दिएको हो । जेल सजाय गर्नुपर्नेलाई सामान्य धरौटीमा छोडेको भन्दै सो फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने पीडित भरियाहरूले जनाएका छन् ।
गत २० पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बिस्कुट थान २८२ (३२८९२.४८ ग्राम) र सुनको गहना ६८४.९२ ग्राम गरी जम्मा साढे ३३ किलो सुन बरामद भएको थियो । सो सुनको मूल्य १६ करोड ८२ लाख ८८ हजार रहेको प्रहरीले जनाएको छ । सोही सुन तस्करीमा संलग्नहरूलाई प्रहरीले पहिलोपटक संगठित अपराधमा मुद्दा चलाएको थियो ।
सो मुद्दामा धरौटी र सामान्य तारिखमा छुटेका विरुद्ध सरकारी वकिलको कार्यालयले निवेदन दिइसकेपछि पनि सुन तस्करीमा संलग्न भई फरार भई हाजिर भएकालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडिसकेको छ । फरार रहेका भनिएका पनि अदालतमा हाजिर भएर धरौटी तिरेर छुटेका छन् । रवि भन्ने राजेश बोगटीलाई २२ जेठमा काठमाडौं जिल्ला अदालतले एक लाख ५० हजार धरौटीमा छाडेको छ । त्यस्तै, मल्लिका बज्राचार्य शाक्यलाई २९ जेठमा साधारण तारेख, राजेन्द्रकुमार शाक्यलाई २३ जेठमा एक लाख ५० हजार र गीता श्रेष्ठलाई ३० जेठमा एक लाख रूपैयाँ धरौटीमा छाडेको छ । धरौटी तिरेर मुक्त हुने सबै सुन पसले हुन् ।
विमानस्थलमा खटिएका एसएसपी श्याम खत्रीलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले ४ चैतमा दुई लाख धरौटीमा छाडेको थियो । राजेश शाक्य, वैभव लक्ष्मी सुन पसल न्युरोडका व्यापारी राजेश श्रेष्ठ, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ, सपन श्रेष्ठलाई जनही एक लाख रूपैयाँ धरौटीमा छाडिएको थियो । उनीहरू यसअघि पनि सुन तस्करीमा मुछिँदै आएका व्यापारीहरू हुन् । अभियोगपत्र साथ पेस भएका १२ जना प्रतिवादीको बयान र वादी–प्रतिवादीका तर्फबाट बहस भएपछि अदालतले गत ४ चैतमा थुनछेक आदेश दिएको थियो ।