७ बैशाख २०८१, शुक्रबार
Follow Us

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

नेपालब्रिटेन डट कम्
२९ असार २०७४, बिहीबार ०६:५९

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलोमा खसेको पहिरो पन्छाएपछि आज बिहान १०ः३० बजेबाट सडक सञ्चालनमा आएको छ । बुधबार अपराह्न ३:२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।
राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका झण्डै ३०० सवारी साधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः पन्छाउन सुरु गरिएको थियो ।
मुग्लिन नारायणगढ सडकखण्डमा गएको जेठ यता १ सय ३८ पटक पहिरो खसेको छ । पहिरोका कारण पटक पटक सडक अवरुद्ध भएको छ । बुधबार दिउँसोदेखि नै पहिरोकै कारण दोहोरो गाडी चल्न सकेको थिएन ।
नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सडकको झण्डै ४० मिटर लामो भाग पहिरोले पुरिएको थियो । दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाएपछि सडक खुलेको हो । गत वर्ष पहिरो खसेर दुःख दिएकै ठाउँमा यस वर्ष पनि पहिरो खसेको खनालले बताउनुभयो । सडक विस्तारका क्रममा भित्तो काटिएका ठाउँमा पहिरो खस्ने क्रम बढेपछि हाल सो सडक रातिको समयमा बन्द गरिएको छ ।