१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘निःशुल्क भिसा र हवाई टिकट पुनरावलोकन हुन सक्छ’

नेपालब्रिटेन डट कम्
३१ असार २०७४, शनिबार ०५:२४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलहरूबीच सहमति भए मात्र सरकारले लागू गरेको ‘निःशुल्क भिसा र हवाई टिकटको व्यवस्था पुनरावलोकन हुने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले व्यवसायीबाट निःशुल्क भिसाको व्यवस्था पुनरावलोकनको माग आएकाले अहिले यस विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिए ।

उनले वैदेशिक रोजगारीमा गएर विदेशमा ज्यान गुमाउने नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै मृत्युदर घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीलाई विदेशमा कामदार पठाउने मात्रै होइन, उनीहरूको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान दिन आग्रह गरे । नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगार व्यवसायीको योगदान महŒवपूर्ण रहेको भन्दै उनले व्यवसायीलाई आफूले पठाएको कामदारप्रति सधैं जिम्मेवार हुन पनि आग्रह गरे ।

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले निःशुल्क भिसा र हवाई टिकट’को व्यवस्था आकर्षक र प्रभावकारी भए पनि कार्यान्वयन हुन नसक्नुको कारणबारे आफूले अध्ययन गर्ने बताए । उनले पनि निःशुल्क भिसा र टिकट व्यवस्थाको उचित लाभ कामदारले पाउन नसकेको भन्दै राजनीतिक दल, मजदुर संगठन र व्यवसायीसँगको छलफलबाट यस व्यवस्थालाई समय अनुकूल पुनरावलोकनका लागि पहल गर्न सकिने बताए । उनले निःशुल्क भिसा र हवाई टिकटको व्यवस्था अझै कार्यान्वयन नहुनुको कारणबारे सरकारले विशेष रूपले हेरिरहेको बताए ।

उनले निःशुल्क भिसा र टिकटको व्यवस्था कार्यान्वयन किन भएन, नहुनुको कारण के हो, कहाँ कठिनाइ भएको छ, कहाँ त्रुटि भएको रहेछ यो विषय पहिचान गरी कसरी सम्बोधन गर्न सकिन्छ आफूले अहिले यस विषयलाई निकै गम्भीर रूपमा लिएको बताए । अहिले निःशुल्क भिसा र हवाई टिकटबाट नेपाली कामदारले कत्तिको लाभ पाइरहेका छन् भन्नेबारे पछि आफूले सूक्ष्म रूपमा जान्ने प्रयास गरिरहेको भन्दै उनले यस विषयमा श्रम मन्त्रालयले समस्या पहिचान गरेपछि निकास निकाल्न विज्ञहरू बसेर निर्णय गर्ने शनिबार राजधानी दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।