८ बैशाख २०८१, शनिबार
Follow Us

मन्त्रिपरिषद् विस्तार र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन यही साता

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०९:११

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तार र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने गृहकार्य सुरु भएको छ । सरकार विस्तारका लागि कांग्रेसको तर्फबाट कार्यदल सदस्य विमलेन्द्र निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दहालसँग आज भेट गरी मन्त्रिपरिषद् विस्तार, निर्वाचन क्षेत्र निर्धारण आयोगलगायतका विषयमा छलफल गरेका छन् ।
दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा बुधबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने नेता निधिले जानकारी दिए । मन्त्रालय बाँडफाँटका विषयमा सैद्धान्तिक सहमति भए पनि संख्या र नामको टुंगो लगाउने जिम्मा भने कार्यदललाई दिइएको नीधिले जानकारी दिए । प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन माघ पहिलो साताभित्र गर्ने हो भने साउन १५ भित्र क्षेत्र निर्धारण भएको प्रतिवेदन दिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ ।
दुई दलबीच कांग्रेसले १२ र माओवादी केन्द्रले ८ मन्त्रालय लिने यसअघि सैद्धान्तिक सहमति भए पनि अहिले माओवादीले ९ वटा मन्त्रालय मागिरहेको छ । कांग्रेस र माओवादीले २० वटा मन्त्रालयले लिने र बाँकी अन्य दललाई बाँड्ने विषयमा छलफल जारी रहेको बताइएको छ । अहिले पनि उर्जा, भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, कृषि लगायतका मन्त्रालयमा टुंगो लाग्न सकेको छैन ।