४ बैशाख २०८१, मंगलवार
Follow Us

नेतृत्वको आलोचनामा बित्यो आजको कांग्रेस बैठक

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार १५:२०

काठमाडौं । शनिबारदेखि सुरु भएको सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा आज बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरे । पार्टी दोस्रो बन्नुमा उम्मेदवारी चयनमा भएको गल्ती र अन्तर्घातलाई नै कारण मान्दै नेतृत्वको आलोचना भएको हो । नेकपा एमालेले अघि सारेको राष्ट्रिय मुद्दाको भ्रमका कारण पनि आफूहरु खुम्चिनुपरेको समीक्षा कांग्रेसका नेताहरुले गरिरहेका छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेसभन्दा एमाले लगभग ९८ हजार मतका साथ अघि छ ।
संसदमा पहिलो दल रहेको कांग्रेस निर्वाचनमा थुप्रै स्थानमा झिनो मतअन्तरका साथ पराजित भएको छ । त्यसको दोष कांग्रेस नेताहरुले अन्य पार्टीलाई लगाउनुभन्दा आफैंभित्र थोपर्न थालेका छन् । निर्वाचनमा जनताले पत्याएनन् भनरे स्वीकार गर्नुको साटो जनताको चाहना कांग्रेस नै हो तर कांग्रेसले कांग्रेसलाई हरायो भन्ने बहसमा रुमलिएका छन् । कांग्रेस केन्द्रीय सदस्यहरु टिकट वितरणमा भएको गुटबन्दी, उम्मेदवारी चयनमा भएको ढिलाइका कारण कांग्रेसले हारेको तर्क गरिरहेका छन् । उनीहरु घुमाउरो पारमा एक पक्षले अर्कोलाई दोष दिइरहेका छन् ।
बैठक पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । आजको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु बलबहादुर के.सी., महेश आचार्य, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी, मीन विश्वकर्मा, पार्वता डी.सी. चौधरी, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, देवेन्द्रराज कँडेल र सरिता प्रसाईले आ–आफ्नो धारणा राख्नु भयो । बैठकमा पार्टी पदाधिकारी एवं सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक भोलि पुनः बस्नेछ ।