January 27, 2022
5:28 PM | 11:13 PM
कला तथा मनोरन्जन

तीन दशक पारि, एकल साँझमा उभिदै थकाली

  25/07/2017 मा प्रकाशित

घर त पोखरा, तिम्रो पो सबै छन्, मेरो को छ र !’

जनजिब्रोमा झुण्डिने उक्त गीतका गायक वसन्त थकालीको पुख्र्याैली गाउँ हिमालपारिको जिल्ला मुस्ताङको ठिनी हो । तर उनी पोखरामै जन्मे हुर्के । पोखराको प्रकृति, संस्कृति र साथीसंगतले उनलाई गीत–संगीतप्रति डो-यायो । त्यसैको प्रभावले उहाँ गीत गायनमा एकोहोरिनुभयो ।

विसं २०१६ असोज २२ गते पोखरामा जन्मनुभएका थकालीको पहिलो गीत २०४० सालमा रेकर्ड भयो । बाल्यकालमा नै बुबा गुमाएको पीडाको भावना गीतमा अभिव्यक्त भएको बताउनुहुने थाकाली २०३९ सालमा रेडियो नेपालको प्रतिभा साँझ कार्यक्रममा पहिलोपटक स्टुडियोमा गएर गीत गाउनुभयो ।

“गायनको क्रम शुरु भएपछि २०४० सालमा रेडियो नेपालभित्र रहेको रत्न रेकर्डिङ संस्थानले ‘घर त पोखरा…’ गीत रेकर्ड गरेको हो ।” यो गीत रेकर्ड हुनुमा नेपाली कथानक चलचित्र कान्छीका हास्य कलाकार सूर्यगोपाल श्रेष्ठको विशेष सहयोग रह्यो । श्रेष्ठले २०४० सालमा आयोजित राष्ट्रिय लोकगीत सम्मेलनमा भाग लिन उहाँलाई प्रेरित गर्नुभयो ।

त्यो गीतमा महिलाकातर्फबाट सिर्जनागौचन थकाली, वाद्यवादनमा स्व सागर थापा र दीपक गौतमले साथ दिनुभयो । पोखराबाट चौथो स्थान हासिल गरी काठमाडौँमा गएर रेकर्ड गराउँदा आफूलाई निकै खुशी लागेको र त्यसैले होला मलाई सांगीतिक क्षेत्रमा लाग्न प्रेरणा मिलेको थकालीले बताउनुभयो ।

रेडियो नेपालको चौतारी कार्यक्रममा ‘झ¥यो म्याग्दी खोला, बाँचे त भेट होला…’ बोलको गीत काजु शेरचनसँग संयुक्तरुपमा गाउनुभएको थकालीले त्यसबेला धेरै गीत बाबुकाजी थापा, मधुसूदन थापा, कृष्ण गुरुङलगायतसँग संयुक्तरुपमा गाइएको थियो ।

थकालीको २०४६ सालतिर नेपाल टेलिभिजनमा रेकर्ड भएको चर्चित गीत हो, ‘सुनौली भन्सार, घर न बार घुम्दैछु संसार, मायाँ सलल ।’ “विसं २०४६ मा तत्कालीन राजा वीरेन्द्र शाहको पोखरा भ्रमणका क्रममा यहाँ आउनुभएका नेपाल टेलिभिजनका फोटो पत्रकार रत्नहजुर सेन, वरिष्ठ गीतकार कृष्ण गुरुङ, स्व प्रविण गुरुङको विशेष आग्रहमा महेन्द्र गुफामाथिको जंगलमा मैले यो गीत लाइभ (प्रत्यक्ष) गाएको हुँ,” उहाँले भन्नुभयो ।

त्यतीवेला रेडियो नेपालमा अरुको गीत गाइदिँदा एउटा गीत गाएको रु ५० दिने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो—“रचना गरेका दर्जनौँ गीत भए पनि २५ गीतमात्र रेकर्डिङ भएका छन् ।”

मलाई मेरो तलबले पुगेन, ‘गाउँघरको झिल्के मलाई त गाउँकै ठिटी मनपर्छ’, ‘जोमसोममाथिको ठिनी गाउँ’, ‘बाँचुन्जेल जे छ हजुर’, ‘झल्को उही दिनको’, ‘कमल फूल फुल्यो हिलैमा’ जस्ता उहाँका गीत युट्युबमा पाइन्छ ।

‘अँधेरीमा जुनतारा, उजेलीमा झुल्के घाम, हिँड मायाँ सँगै जाम’, ‘पहिले माया लाइएन, अहिले खोज्दा पाइएन, आज जोडी चाहियाछ, मेरी मायाँ होरी त्यतै छ’ जस्ता उहाँका स्रोताले मन पराएका गीत हुन् ।

गीत–संगीतमात्र होइन थकालीको सामाजिक सेवामा पनि उत्तिकै योगदान छ । खेलका माध्यमबाट युवालाई अनुशासित एवं क्रियाशील गराउन उहाँ संस्थापक अध्यक्ष रहेको सहारा क्लबले खेल क्षेत्रमा राम्रै काम गरेको छ । क्लबले असहाय बालबालिकालाई खेलका माध्यमबाट उनीहरूको व्यक्तित्व विकास गर्न देशकै नमूना सहारा एकेडेमी बनाएको छ ।

वर्षेनी सञ्चालन हुँदै आएको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अझै निरन्तर छ । क्लबमा थकालीले तदर्थ समितिसहित चार कार्यकाल नेतृत्व गर्नुभयो । थकाली समाजसहितका धेरै संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।

सामाजिक सेवाको कदरस्वरुप थकालीले २०७० सालमा समाज कल्याण परिषद्बाट राष्ट्रिय समाजसेवी पुरस्कार र २०६० सालमा सरकारबाट दैवी प्रकोप उद्धार पदकसमेत प्राप्त गरिसक्नुभएको छ ।

फुटबल तथा टेबुलटेनिसमा विशेष रुचि राख्ने थकालीले राष्ट्रियस्तरका प्रतियोगितामा समय समयमा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिरहनुभएको छ । हाल उहाँ खेलसम्बद्ध संस्था युवा फुटबल विकास समिति र लोकतान्त्रिक खेलकुद सङ्घको केन्द्रीय सदस्य, नेपाल आर्चरी सङ्घको प्रथम उपाध्यक्षजस्ता जिम्मेवारीमा हुनुहुन्छ ।

गीत–संगीत र खेलकुद हुँदै सामाजिक सेवाका क्षेत्रमा क्रियाशील थकालीले आफ्नो सांगीतिक यात्राको तीन दशकयताको अन्तरालपछि आफूले रचेका गीत लिएर आउँदो पुस महिनामा एकल साँझमा उभिनुहुने भएको छ ।
– वासुदेव पौडेल

प्रतिक्रिया