१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्रिपरिषद् विस्तार रोकियो, मन्त्रीको नामावली फेरबदल

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७४, मंगलवार १६:१३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार गर्न लागेको मन्त्रिपरिषद् विस्तार अन्तिम समयमा रोकियो । पार्टीभित्रको आन्तरिक कलहले मन्त्रिपरिषद् विस्तार रोकिएको बताइएको छ । तर मंगलबार साँझ पौडेल पक्षले मन्त्रीको नामावली बुझाएपछि भोलि दिउँसो ४ बजेलाई सपथ कार्यक्रम राखिएको छ ।
देउवाले आज आफ्ना र माओवादीका समेत मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका थिए । त्यसका लागि उनले पार्टीभित्रका विभिन्न समूहबाट मन्त्री हुनेहरूको नामसमेत प्राप्त गरिसकेका थिए । अन्तिम समयमा नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट मन्त्री बन्नेहरूको मन्त्रालय पहिले नै टुंगो लाग्नुपर्ने अडान राखेपछि देउवा रोकिएका हुन् । समाचारस्रोतका अनुसार पौडेलसँग देउवाले मन्त्री हुनेहरूको नाम मात्र मागेको थिए । मन्त्रालय कुन दिने भन्ने निर्णय प्रधानमन्त्रीको अधिकार भएको बताएका थिए । तर, पौडेलले आफूले भनेका मन्त्रालय आफ्ना पक्षबाट मन्त्री बन्नेले पाउनुपर्ने अडान राखेपछि देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्न सकेनन् ।
यसअघि देउवाले आज कांग्रेसबाट १०, माओवादीबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना मन्त्री बनाउने तयारी गरेका थिए । यसका लागि पौडेल, कृष्ण सिटौला र खुमबहादुर खड्का समूहबाट पनि देउवाले मन्त्री बन्नेको सूची प्राप्त गरिसकेका थिए । स्रोतका अनुसार, देउवाले आफ्नो समूबाट अर्जुन जोशी, अम्बिका बस्नेत, मीन विश्वकर्मा र वीरबहादुर बलायरलाई सपथ खुवाउन तयारी गरेका थिए ।
यस्तै, पौडेल पक्षबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी, र रामकृष्ण यादव, सिटौला समूहबाट भीमसेनदास प्रधान तथा खड्काको कोटाबाट मोहनबहादुर बस्नेतलाई सपथ गराउने तयारी थियो । आजै अपरान्ह ४ बजे सपथ गराउने तयारीमा प्रधानमन्त्री रहे पनि पौडेलको असन्तुष्टिका कारण रोकिएको हो ।