८ बैशाख २०८१, शनिबार
Follow Us

मन्त्रीको भागवण्डा कांग्रेसभित्र यसरी मिलाइयो

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७४, बिहीबार १०:४२

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई विहान ११ बजे मन्त्री बन्नका लागि तयार रहनु भन्दै प्रधानमन्त्री निवास बालुवाटारबाट फोन आयो । अपरान्ह ४ बजे सपथ लिन राष्ट्रपति भवन पुग्नका लागि श्रेष्ठ दौरा सुरुवाल लगाएर तयारी अवस्थामा थिए । श्रेष्ठ मन्त्री बन्ने समाचार सामाजिक सञ्जालमा आएपछि उनलाई बधाइ दिनेको ओइरो लाग्यो । तर, २ बजेतिर मन्त्रीको लिस्टबाट उनको नाम काटियो भन्ने अर्को फोन आएपछि दौरा सुरुवाल फुकालेर उनी सामान्य अवस्थामा बसे ।
कांगे्रसबाट मन्त्री बनेका केहीलाई आफू ४ बजे सपथ लिन राष्ट्रपति भवन जादैछु भन्ने कुरा २ घण्टा अघिसम्म थाहा थिएन । को–कसलाई मन्त्री बनाउने भन्ने विवादले दुई महिना पछि धकेलिएको मन्त्रिमण्डल विस्तारमा पर्वतका अर्जुन जोशीको नाम सुरुदेखि नै चर्चामा थियो । तर मन्त्रीको लिस्टमा चिनकाजीको नाम चढेपछि जोशीको नाम हट्यो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बलबहादुर केसीलाई मन्त्री लिस्टमा राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल विस्तारमा अप्ठ्यारो प¥यो । केसीको नाम पौडेलले फिर्ता नलिएसम्म प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्नै मानेन् । प्रधानमन्त्री देउवाको ‘जानी दुस्मन’ का रुपमा चर्चित केसीलाई पौडेलले नाम फिर्ता लिएपछि उनले अर्को खेल खेले । पर्वतका अर्जुन जोशीलाई रोक्न चिनकाजीको नाम अघि सारेका थिए ।
प्रधानमन्त्रीको सहयोगी भूमिका निर्वाह गरिरहेका विमलेन्द्र निधिले २ नम्बर प्रदेशबाट थप एकजना मन्त्री बनाउनुपर्छ भन्ने प्रस्ताव देउवा समक्ष पु¥याए । २ नम्बर प्रदेशमा स्थानीय निर्वाचन हुँदैछ, यदि कांग्रेसले बहुमत ल्याउने हो भने अर्को एकजना मन्त्री थप्नुपर्छ भन्ने निधिको भनाइ प्रधानमन्त्री देउवालाई मोनासिब लाग्यो । अन्ततः प्रधानमन्त्री देउवाले चिनकाजीको नाम हटाएर महेन्द्र यादवको नाम थपे ।
प्रधानमन्त्री देउवाले आफूसँग तीनवटा मन्त्रालय राखेर बाँकी कांगे्रस पदाधिकारीलाई बाँडेका थिए । महामन्त्री शंसाक, कोषाध्यक्ष सीतादेवी यादव र नेता पौडेललाई एक–एकजना भाग लगाए । महामन्त्री शंसाकले सञ्जय गौतम, कोषाध्यक्ष यादवले रामकृष्ण यादव र नेता पौडेलले यज्ञबहादुर थापाको नाम प्रधानमन्त्रीलाई बुझाए । प्रधानमन्त्री देउवाले पूर्वमहामन्त्री प्रकाशमानसिंहलाई समेत एउटा मन्त्री छान्ने अवसर दिए । सिंहको सिफारिसमा राजन केसी युवा तथा खेलकुद मन्त्री भए । कृष्ण सिटौला र खुमबहादुर खड्कालाई पहिले नै एक–एकजना मन्त्री छान्न दिएका थिए । सिटौलाले भीमसेनदास प्रधान र खड्काले महोनबहादुर बस्नेतको नाम सिफारिस गरेका थिए ।
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउँदा काँध थापेका मीन विश्वकर्मा, सुदूरपश्चिमको प्रतिनिधिका रुपमा बीरबहादुर बलायर र कोइराला परिवारको मान्छे पनि मसँग छ भन्ने देखाउन प्रधानमन्त्री देउवाले अम्बिका बस्नेतलाई महिला र बालबालिका मन्त्री बनाएका हुन् ।
प्रधानमन्त्री देउवाले मन्त्री छान्नका लागि कुनै मापदण्ड बनाएका थिएनन । यद्यपि हिजो बुधबार सपथ लिएका मन्त्रीहरुमा मोहनबहादुर बस्नेतबाहेक सबै नयाँ अनुहार हुन् । महिला तथा बालबालिकाको जिम्मेवारी पाएकी अम्बिका बस्नेतबाहेक सबै एउटै पुस्ताका नेतालाई मन्त्री बनाइएको छ ।
सुनयना राउत