१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अध्यक्षको प्रस्तावविरुद्ध पूर्वअध्यक्षहरु एकजुट

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७४, आईतवार ११:०४

काठमाडौं । हिजो शनिवारदेखि जर्मनीको फ्यांडफोर्डमा सुरु भएको एनआरएन यूरोपियन क्षेत्रीय बैठकमा अध्यक्ष शेष घलेले संघको अध्यक्ष कार्यकारी प्रमुख हुने गरी प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव विवादित बनेको छ । बैठकमा उपस्थित संघका पूर्व अध्यक्षहरुसहित आधाभन्दा बढी सहभागीले उक्त प्रस्तावको विरोध गरे । अध्यक्ष घलेले प्रस्तुत गरेको उक्त प्रस्तावविरुद्ध संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले खुलेरै आलोचना गरे ।
आगामी अक्टोवर महिनाको दोस्रो साताबाट संघको नेतृत्वबाट विदा लिने घोषणा गरेका अध्यक्ष घलेले संघको सांगठनिक संरचनालाई परिर्वतन गर्ने योजनासहितको उक्त प्रस्ताव लिएर बैठकमा उपस्थित भएका थिए । प्रस्तावलाई लिएर घलेले भने, ‘आगामी एक दशकसम्म सबै मुलुकमा नेपाली समुदाय बढदै जानेछन् । काठमाडौंमा रहेको हाम्रो सचिवालयको संरचना वृहतरुपमा परिवर्तन गर्नुपर्ने देखिन्छ । त्यसलाई मन्त्रालय जस्तो बनाउनु पर्नेछ । एनआरएनएको नीति निर्माणका लागि संस्थाको आवश्यकता पर्छ ।’
उनले लगानी, बसाइसराई लगायत विषयमा काम गर्न त्यस्तो संस्था हुनु पर्नेमा जोड दिएका थिए । उनका अनुसार त्यो संस्थामा विदेशमा बस्ने वैज्ञानिक, अनुसन्धानकर्ता, वौद्धिक जगतले काम गर्न सक्ने छन् । जहाँ निर्वाचित पदाधिकारीलाई राखिने छ । जसले गर्दा प्रशासनिक र सामाजिक काम चुस्त हुनेछ । अध्यक्ष घलेद्वारा प्रस्तुत संघको प्रस्तावप्रति एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले विस्तृत छलफलपछि मात्रै यस्तो योजना अघि बढाउनु पर्ने बताए । उनले योजनाबारे टिप्पणी गर्ने अधिकार सबैलाई भएको भन्दै कुनै काम गर्नु अघि सोच विचार, बहस र छलफल हुन आवश्यक रहेको बताए । संघका प्रमुख संरक्षक जिवा लामिछानेले भिजन भिजन २०२० को विषयलाई लिएर आफु अच्चमित भएको बताए । उनले एनआरएनएको वृहत परिवर्तन जस्तो विषयमा आफुलाई जानकारी नभएको बताए । संस्थाको संरचना परिवर्तन गर्ने भन्ने बिषय बस्तु समान्य नभएको भन्दै त्यसमा व्यापक छलफल हुनु पर्नेमा उनले जोड दिए ।
लामिछानेले संघको आन्तरिक जनशक्ति प्रसस्त हुदाहुदै अध्यक्ष घलेले प्रस्तुत गरेको भिजन २०२० बाहिरको मानिस ‘हायर’ गर्ने भन्दै विजुली चम्मेको जसरी ल्याइएको टिप्पणी गरे । उनले आफनै विधान पास गराउँदा बाहिरको कम्पनी हायर गर्नु संस्थाको बृहत हित विपरित भएको भन्दै संघको संस्थाको संरचना परिवर्तनको विषय बस्तु अन्तरिक विषय भएकोले बाहिर दिनु गलत भएको बताए ।
लामिछानेको टिप्पणीलाई लिएर अध्यक्ष घलेले आक्रोशित हुदै सबैलाई जानकारी गराएर योजना अघि सारेको दावी गरे । उनले भने, ‘यो योजना सबैको हितका लागि ल्याइएको हो । यसमा आरोप लगाउनु पर्ने कुनै ठाउँ छैन । यो योजना लागु गर्ने र नगर्ने तपाईहरुको हातमा छ । मन परे अगाडि बढाउनुहोस मन नपरे नबढाउनुहोस । मैले एनआरएनलाई दिएको मात्र छु लिएको केही छैन ।’
संघका पूर्व प्रवक्ता तथा सल्लाहाकार डा. हेमराज शर्माले समयअनुसार संस्था परिवर्तन गर्नु आवश्यक भए पनि अध्यक्ष घलेको प्रस्तावले आशंका पैदा गरेको बताए । संघ अष्ट्रिेलिया संयोजक महेन्द्र लम्सालले संस्थालाई जिवित राख्नका लागि आन्तरिक एकतालाई जोड दिए । उनले ‘पोलिस इन्स्च्यिुट’मा काम गर्न एनआरएनएकै मानिसले अवसर पाउनु पर्नेमा जोड दिए ।
गैरआवासीय नेपाली संघकी प्रवक्ता रन्जु थापाले संघका अध्यक्ष घलेले प्रस्तुत गरेको भिजन टवान्टी टवान्टीे पास हुने दावी गरिन । संघका कोषाध्यक्ष हिक्मत थापाले गैरआवासीय नेपाली संघको एकतामा जोड दिदैं संघको भवन निमार्णका लागि एक हुन आग्रह गरे ।
संघका महासचिव डा. बद्री केसीले भिजना टवान्टी टवान्टीको चर्चाले एनआरएनको कार्यसमितिको अधिकार कटौति हुने बताए । संघको यूरोप स्थित विभिन्न देशका तीन सय प्रतिनिधि सहभागी क्षेत्रीय बैठक आज आइतवार सांझ फ्रयांकफर्ड घोषणापत्र जारी गर्दै समापन हुदैछ ।