८ बैशाख २०८१, शनिबार
Follow Us

भड्किलो एनआरएन क्षेत्रीय सम्मेलनकाे अाैचित्य

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७३, बुधबार ०७:२५

चिरञ्जीवी ढकाल ।

गैरआवासीय नेपाली संघ (एनआरएन) जुन उद्देश्यले स्थापना भएको हो, यो एक दशकमा त्यसले एउटा कोर्ष पूरा गरिसकेको छ । संसारभर छरिएर रहेका नेपालीलाई एकताको सूत्रमा बाध्ने, डायस्पोराका नयाँ पुस्तामा नेपाली संस्कार र संस्कृति सिकाउने र प्रवासमा आर्जन गरेको ज्ञान र पूँजी नेपाल भित्र्याउने उद्देश्यले एनआरएनको स्थापना गरिएको थियो ।

यी उद्देश्य पूर्तिका लागि एनआरएनले त्यही किसिमले विधान ड्राफ्ट गरेको हो । संस्थाको काममा सबै साथीभाइ सहभागी हुन्, सबैले हैसियत अनुसारको जिम्मेवारी पाउन, नेतृत्व लिने व्यक्ति तल्लो निकायबाटै खारिदै आउन् भन्ने संस्थाको उद्देश्य हो । क्षमताअनुसार सबैले काम गर्न पाउन भनेर कार्यदल बनाउने परम्परा एनआरएन स्थापनाको प्रथम संस्करणबाटै सुरु भएको हो । प्रत्येक दुई वर्षमा विश्व सम्मेलन र क्षेत्रीय सम्मेलन गर्ने परम्परा पनि एनआरएनले स्थापनाकालदेखि नै गर्दै आएको हो । विश्व सम्मेलन गरेको एक वर्ष बितेपछि क्षेत्रीय सम्मेलन गर्ने परम्परा हो । क्षेत्रीय सम्मेलनमा उठेका एन्जेडा स्थानीय तहमै सम्भव भएसम्म सम्बोधन गर्ने, सम्बोधन हुन नसकेका एजेन्डालाई विश्वसम्मेलनमा लैजाने गरी विधान डिजाइन गरिएको छ । यो विधान तत्कालीन अवस्थाको आवश्यकता र भावनाअनुरुपको थियो भन्न हिचकिचाउनु पर्दैन ।

संस्था अविच्छिन्न रुपमा अघि बढ्छ, यसलाई नेतृत्व दिनेहरु परिवर्तन भइराख्छन्, यो स्वाभाविक प्रकृया हो । यस अवधिमा संस्थालाई चारजनाले नेतृत्व दिइसक्नु भएको छ । उद्देश्यअनुरुप संस्थालाई डो-याउन उहाँहरु कति सफल हुनुभयो भएन त्यो विश्लेषणको बेग्लै पाटो हो । उहाँहरुको कार्यकाल इतिहासले मूल्यांकन गर्नेछ, यसबेला त्यो विषयमा बहस गर्नु सान्दर्भिक हुँदैन ।

तर समय सापेक्ष नेतृत्वले संस्था डो-याउन सकेन भने विकृतिको पहाड चुलिदै जाँदो रहेछ भन्ने कुरा चाहिँ स्पष्टसँग देखियो । यहाँ केन्द्रीय नेतृत्वको मात्र कुरा गर्न खोजिएको होइन, संस्थामा बसेर जसले जुन जिम्मेवारी पाएका छन्, उनीहरुले संस्थालाई नयाँपनको आभास दिलाउन सके कि सकेनन भन्ने कुरा महत्वपूर्ण हो । यदि परम्परालाई मात्र धान्ने हो भने संस्थामा विकृति मात्र मौलाउँछ भन्ने स्पष्टै देखियो ।

वास्तवमा नेपाल र नेपालीका समस्यालाई क्षेत्रीय रुपमा उठाउन एनआरएनले क्षेत्रीय सम्मेलनको कल्पना गरेको थियो । स्थानीय तहमा रहेका नेपाल र नेपालीमाझ भ्रातृत्व अभिवृद्धि गर्न, समस्या पहिचान गर्न र समाधानको उपाय खोज्न एनआरएनले क्षेत्रीय सम्मेलनको कल्पना गरेको हो । (हेर्नुहोस् बक्स)

तर, यो अवधिमा आइपुग्दा क्षेत्रीय सम्मेलन स्थानीय नेपाली समुदायको पहुँचभन्दा बाहिर पु-याइएको छ । सरोकारवालालाई बेवास्ता गर्दै लाखौं रुपैयाँ खर्च गरेर पाँच तारे होटलमा सम्मेलन राखिन्छ, खानपिन र बस उठलगायत प्रतिष्ठित पाहुना ओसारपसारमा पनि लाखौं रुपैयाँ खर्च गर्ने संस्कार बसाल्दा क्षेत्रीय सम्मेलनले नै विश्व सम्मेलनलाई गिज्याउन खोजेको जस्तो देखिन्छ । यदि क्षेत्रीय सम्मेलनको उद्देश्यलाई सम्बोधन गर्ने हो भने सरोकारवालाहरुको पहुँचभन्दा बाहिर जानु हुँदैन । जति सक्दो स्थानीय नेपाली समुदायलाई समेट्ने प्रयास गर्नुपर्छ। प्रवासमा व्यस्त रहेका नेपाली समुदायलाई कसरी समेट्न सकिन्छ भन्नेतर्फ नेतृत्वको ध्यान जानु आवश्यक छ।

हुनपनि सरोकारवालालाई बेवास्ता गरेर संस्था डो-याउन सकिदैन । सीमित व्यक्तिहरु तारे होटलमा दुई रात कटाउने, घुमघाममा रमाउने, तस्बीरहरु सामाजिक सञ्जालमा प्रचारप्रसार गर्ने र अन्त्यमा तिनै पुराना कुरामा छलफल चलाउने संस्कार नै बन्न लागेको छ। अन्त्यमा तिनै पुरानै घोषणापत्रका बुँदालाई तलमाथि पारेर जारी गर्ने र सम्मेलन अन्त्य भएको घोषणा गर्ने संस्कारमा अहिलेसम्म परिवर्तन आएको छैन । यो एनआरएनका लागि शुभसंकेत होइन, यसले निश्चय पनि संस्थालाई सही दिशा दिन सक्दैन । ताडकभडक त्यागेर अबको क्षेत्रीय सम्मेलन इस्यु र मुद्दामा बहस चलाउँ, अनि मात्र सबैको कल्याण हुन्छ ।