७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘यूके डान्स अफ २०१७’ को उपाधि जसिताले जितिन्

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार १७:५९

श्रावण १७, २०७४- बेलायतका नेपाली तन्नेरीबीच गरिएको एउटा नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को उपाधि जसिता गुरुङले जितेकी छन् । आइतबार प्रिन्सेस हल अल्डरसटमा आयोजित प्रतियोगितामा १३ अन्य प्रतिष्पर्धीलाई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन् । उनले १२ सय पाउण्ड नगद पाइन् ।

प्रतियोगितामा फस्ट रनर अपको उपाधि युवतीहरुको समूह एआइएम ग्रुपले जित्यो भने सेकेन्ड रनर भइन् सरिना गर्बुजा । दोश्रो हुने समूहले ८ सय पाउण्ड र तेश्रो विजेताले ५०० पाउण्ड नगद जिते ।
बिजेतालाई प्रमुख अतिथी राजदूत दुर्गाबहादुर सुवेदी, आयोजक सपनकुमार राई लगायत प्रायोजकहरुले पुरस्कार प्रदान गरेका थिए ।

सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो ‘यूके डान्स अफ’ मा नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई, धिरज मगर, सनमकुमार बैराग, समिर गुरुङ र जेनी सुनुवार निर्णायक थिए । ५० प्रतिशत निर्णायक मत, २५ प्रतिशत युट्यूब भ्यूअर्स र बांकी २५ प्रतिशत हलका दर्शकको मुल्यांकनबाट अन्तिम बिजेता छानिएको हो ।

पहिलो राउण्डमा नेपालीपन झल्काउने नाच र दोश्रो क्याच द रिदम राउण्डमा आफ्नो इच्छा अनुसार अन्तर्राष्ट्रिय संगीतमा समेत नाच्न पाउने प्रावधान राखिएको थियो ।

५ सय बढि सहभागी उक्त कार्यक्रममा मन्जु गुरुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

आयोजक सपनकुमार राईले बेलायतस्थित नेपाली युवाको प्रतिभा उजागर गर्न प्रतियोगिता गरिएको जनाए ।कार्यक्रम गत वर्षभन्दा उत्कृष्ट बनेको दाबी राईको छ । उक्त कार्यक्रम नेपालबाट आएका प्रस्तोता नरेश भट्टराई र सूर्जे गुरुङले सञ्चालन गरेका थिए ।